शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

प्रदेश १ का १० एमाले सांसद समाजवादीमा : नयाँ सरकार संकटमा

१२ भाद्र, २०७८ १६:३२ मा प्रकाशित

928 पटक पढिएको

province 1 office

काठमाडौं – प्रदेश १ मा नेकपा (एमाले)का १० सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।

विराटनगरमा शुक्रबार साँझ बैठक गरेर १० जनाले समाजवादीमा जाने सामूहिक निर्णय लिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले तटस्थ बसेर केही दिनभित्रै नयाँ दल नेकपा समाजवादी रोजेको जानकारी गराएर सनाखतका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । मोरङबाट प्रदेशसभा सदस्यमा निर्वाचित घिमिरे विगतदेखि नै नेपाललाई साथ दिँदै आएका सांसद हुन् ।

आफूसहित भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, संखुवासभाकी पदमकुमारी गुरुङ, सरीता थापा र उदयपुरकी सुनीता चौधरीले एमालेमा नबस्ने निर्णय गरेको घिमिरेले बताए ।

सांसदको यो निर्णयसँगै गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका एमाले सचिव एवं प्रदेश इन्चार्ज भीम आचार्य नेतृत्वको सरकार संकटमा परेको छ । दल विभाजन भएकाले आचार्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमाले र समाजवादीबीच सांसद आफ्नो पक्षमा पार्ने कसरत चलिरहेका बेला १० सांसदले एमाले परित्यागको निर्णय लिएका हुन् । उनीहरुले नयाँ दल रोजेको खण्डमा आचार्यले विश्वासको मत पाउनसक्ने सम्भावना रहँदैन ।

एमाले छाड्ने सांसदको सामूहिक निर्णयसँगै नयाँ सरकारको मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै आचार्यको मुख्यमन्त्रीमा रहने समय अनिश्चित बनेको छ । उनले शुक्रबार मात्रै तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर साम्सोहाङ्लाई मन्त्री नियुक्त गरेका छन् । प्रदेशमा एमालेका सभामुखसहित ५१ सांसद छन् । फौजदारी कसूरमा अदालतले कैद सजायको फैसला गरेसँगै सांसद गुलेफुन खातुन फरार छिन् ।

सरकार टिकाउन धेरै सांसदलाई एमालेमै राख्ने प्रयत्न आचार्यले गरिरहेको स्रोतले बतायो । विश्वासको मत लिएर सरकार सुरक्षित गर्न उनले ४७ सांसदलाई आफ्नो पक्षमा पार्नुपर्छ । समाजवादीले पनि धेरैभन्दा धेरै सांसदलाई आफूतिर तानेर आचार्यको विरुद्धमा उभ्याउने कोसिस गरिरहेको छ । एमाले छाडेर समाजवादी रोज्ने निर्णय गरेका सांसद राजेन्द्र राईले गठबन्धनसँग मिलेर नयाँ सरकार बनाउने गृहकार्य भइरहेको जानकारी दिए ।

‘अहिलेको सरकारले विश्वासको मत पाउने अवस्था छैन । आचार्य नेतृत्वको सरकार ढालेर गठबन्धनका तर्फबाट नयाँ सरकार बनाउँछौँ,’ उनले भने, ‘विश्वासको मत नपाएपछि आचार्य त्यसै अल्पमतमा पर्छन् । नियमित छलफलमा रहेका १० जनाले समाजवादी रोज्ने निर्णय लिइसकेकाले अहिलेको सरकारको आयु अब केही दिनमात्रै छ ।’

आचार्यले मुख्यमन्त्री पाइसक्दा नै एमालेभित्र विद्रोह सुरु भइसकेको बताउँदै राईले एमालेका अरु केही सांसद पनि आफ्नो सम्पर्कमा आइसकेको बताए । ‘भेटघाट र छलफल गर्दै एमालेभित्र असन्तुष्ट रहेकाहरुलाई समाजवादीतिर ल्याउने प्रयास गर्दैछौँ,’ उनले भने, ‘समाजवादीलाई थप मजवुत बनाउने अभियान जारी छ ।’

९२ सदस्यीय प्रदेशसभामा कांग्रेसका २१, माओवादीका १५, जनता समाजवादी पार्टी (जसपा)का ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ जना सांसद छन् । कांग्रेस, माओवादी, जसपा र नेपाल नेतृत्वको समाजवादीका सांसद मिसिँदा गठबन्धनलाई नयाँ सरकार गठन गर्न संख्या पर्याप्त हुन्छ ।

गठबन्धनबाट नयाँ सरकार बनेपछि केन्द्रको सहमति अनुसार आफूले मुख्यमन्त्री पाउने सम्भावना रहेको राईको भनाइ छ । मुख्यमन्त्री आचार्यले भने मन्त्रीको प्रलोभन देखाउँदै समाजवादीमा नजान सांसदहरुलाई आग्रह गरिरहेको पाइएको राईले बताए । भने, ‘आचार्यले आफू अल्पमतमा पर्ने भएपछि सांसद तानतुन गरेर सरकार जोगाउने प्रयास गरिरहेका छन् ।’

एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टी चोइटिएपछि एमाले नेतृत्वको सरकार संकटमा पर्नु स्वभाविक भएको बताए । ‘सरकार संकटमा परेको चैँ स्वीकार गर्न सकिन्छ,’ उनले भने, ‘तर अझै को सांसद कता जानेभन्ने टुंगो लाग्न केही दिन बाँकी रहेकाले सबै कुराको निर्क्यौल गरिहाल्न सकिँदैन ।’

क्षमता अनुसार पद पाउने भएकाले सांसदलाई मन्त्रीको अफर जानु स्वभाविक नै भएको राजभण्डारीको भनाइ छ । ‘राजनीतिमा लागेकालाई नै अवसर मिल्ने हो,’ उनले भने, ‘सांसद भइसकेपछि मन्त्री बन्ने बाटो खुल्ने हुँदा अफरलाई सामान्य मान्नुपर्छ ।’ समाजवादी रोज्नेको संख्या न्यून भएकाले एमालेभित्र नै बहुमत कायम राखेर सरकारलाई सुरक्षित गर्नेतर्फ पार्टी केन्द्रित रहेको जानकारी राजभण्डारीले दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome