शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

भोलिदेखि काठमाडौंको फोहर नियमित रुपमा उठाइने

१५ भाद्र, २०७८ १७:३६ मा प्रकाशित

275 पटक पढिएको

garbage in ktm street

काठमाडौं – काठमाडौं उपत्याकामा बुधबारदेखि नियमित रुपमा फोहर उठाइने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले लामो समयदेखि उठ्न नसकेको फोहर उठाउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार भोलि बुधबारदेखि फोहर उठाउने निर्णय भएको हो । ‘आज (मंगलबार) फोहोर व्यवस्थापनको विषयमा बैठक बसेको थियो । अब भोलिदेखि नियमित रुपमा फोहर उठ्छ’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतसहितको बैठकले फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । सिसडोलका स्थानीइयलाई असर नगर्ने गरी फोहोर व्यवस्थापन गर्ने तयारी थालिएको छ ।

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि स्थानीयले विरोध गर्दै आएका छन् । सिसडोलका स्थानीयले दुर्गन्ध फैलिएको भन्दै बारम्बार विरोध जनाउने गरेका छन् । पछिल्लो पटक सिसडोलवासीको विरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन सकिरहेको थिएन।

सिसडोल, बन्चरे डाँडा जाने सडक बनाइदिन प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडा ल्याण्डफिल्ड साइडसम्म पुग्ने बाटो अबिलम्ब निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्। सोमबार महानगरपालिकाका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन्।

छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक भएका छन्। ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ। त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देउवासँगको छलफलपछि प्रमुख शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्‍यौ। उहाँले त्यहिबाट सडक विभागका महानिर्देशकज्युलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो।’

प्रमुख शाक्यको सचिवालयले प्रधानमन्त्रीले बोलाएरभन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको जानकारी गराएको छ। प्रमुख शाक्यले यस अघि नै सहयोगको अपिल गर्दै प्रधानमन्त्रीज्युलाई पत्र पठाएका थिए।

उपत्यकाको फोहरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताकासाथ आवश्यक कारवाही अगाडि बढाइ दिन शाक्यले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘नेपाल सरकारबाट काठमाडौं उपत्यकाको फोहरमैलाको दीर्घकालिन समस्या समाधानको लागि निर्माणाधिन वन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल्ड साइडमा पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ।’शाक्यले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ‘यस अवस्थामा तत्काल उक्त बन्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अबिलम्ब निर्माण सम्पन्न गरी काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताकासाथ आवश्यक कारवाही अगाडि बढाई दिनु हुन अनुरोध गर्दछु।’काठमाडौं महानगरपालिका बाहेक २० भन्दा बढी स्थानीय तहबाट उत्सर्जन हुने फोहरसमेतको अन्तिम जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट हुँदै आएको छ।

‘काठमाडौं उपत्यका भित्रका १८ वटा नगरपालिका क्षेत्र र काभ्रेपलाञ्चोक, तथा नुवाकोट र धादिङ जिल्ला समेतबाट उत्सर्जन हुने फोहरमैलाको अन्तिम विसर्जन नुवाकोट जिल्ला ककनी गाउँपालिकास्थित सिसडोल ल्याण्डफिल्ड साइडमा भैरहेको छ।’ पत्रमा भनिएको छ, ‘संवत २०६२ सालदेखि दई वर्षका लागि उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न भनी तयार पारिएको ओखरपौवा सिसडोल स्यानिटरी ल्याण्डफिल साइटमा हालसम्म (करिब १६ वर्ष) सञ्चालन भइरहेको छ। दुई वर्षका लागि निर्माण भएको उक्त ल्याण्डफिल्ड साइटमा अन्य विकल्पको अभावमा अत्यन्तै कठिनतापूर्वक हालसम्म उपत्यकाको फोहरमैलाको अन्तिम विसर्जन भइरहेको विषय आफैमा निकै चनौतीपर्ण हो।’

काठमाडौं महानगरपालिकाका वातावरण तथा कृषि विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले महानगरले काम गरिरहेको भए पनि ‘गर्दै गरेन’ भन्ने आक्षेप आएको गुनासो गरे। उनका अनुसार सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइटको व्यवस्थापन गर्ने, सडक विभागले सडक बनाउने र महानगरले फोहोर व्यवस्थापन गर्ने भन्ने थियो। गत वर्ष नै फोहोर राख्ने ठाउँ छैन भन्ने जानकारी मन्त्रालयलाई गराइए पनि यो वर्षसम्म त्यहीँ व्यवस्थापन गरिदिन समय दिएको हो।

सिसडोलबाट नजिकै रहेको बन्चरेडाँडामा फोहोर जान्छ भन्ने थियो। त्यहाँ जान नसक्दा यो समस्या निम्तिएको श्रेष्ठले स्वीकारे। अहिले फोहोर थुपारिएको ठाउँमा बाटो बनेको छ।फोहोरमाथि ग्राभेलसमेत भएको थियो। फोहोर भरिएका गाडी जाँदा सडक भासिएको छ। त्यसैले फोहोरका गाडी धेरै दिनदेखि सडकमै थन्किएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome