आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

बाढी पहिरोका कारण साँढे दुई महिनामा १०० जनाको मृत्यु, १०९ घाइते, ४४ बेपत्ता

१६ भाद्र, २०७८ ०८:३८ मा प्रकाशित

277 पटक पढिएको

landslide in sindhupalchowk

काठमाडौं – साँढे दुई महिनामा बाढी पहिरोका कारण १०० जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका हुन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले पछील्लो चार दिनमा मात्रै बाढीपहिरोबाट १५ जनाको ज्यान गएको जानकारी दिए। अर्यालका अनुसार यस अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलन अझै जारी छ । अवरुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास जारी गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।

केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ। मंगलबारदेखि मौसम खुले पनि मौसम बदली भने मुलुकभर नै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome