आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

प्रदेश १ र सुदूरपश्चिमका एमालेका १०-१० सांसद समाजवादीतिर

१६ भाद्र, २०७८ १७:५६ मा प्रकाशित

701 पटक पढिएको

sudurpaschim province nepal

काठमाडौं – नेकपा एमाले सुदूरपश्चिम प्रदेशका २५ जना सांसदमध्ये १० जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। मंगलबार प्रदेश निर्वाचन कार्यालयमा दुई जना मन्त्री, दुई जना राज्यमन्त्रीसहितका १० जनालाई नेकपा एकीकृत समाजवादीमा सनाखत गरिएको हो।

सभामुखबाहेक विगतमा, नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्। नेपाल पक्षमै भनिएका तीन जना भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारी, पुर्व प्रमुख सचेतक तारालामा तामाङ, र राज्यमन्त्री अर्चना गहतराज भने निर्वाचन कार्यालय उपस्थित भएनन्।

केही कागजातको कमी र प्राविधिक रुपमा उनीहरु निर्वाचन कार्यालय आउन नसकेको तर आज उनीहरु पनि आएर प्रदेशको सबैभन्दा ठुलो दल बन्ने नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्। ‘केही कागजातको कमी भएको छ, उनीहरु आज आउँछन्, हामी १७ जनामध्ये कम्तीमा पनि १५ जना हुन्छौं’ उनले भनिन्।

मन्त्री जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वका पार्टीमा सनाखत गरेका हुन्।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्। पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी यसअघि नै ओली समूहमा खुलिसकेका थिए।

केन्द्रको गठबन्धनले मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय गरेबाहेक सुदूरपश्चिममा एमाले र समाजवादीको यस सनाखतले खासै असर पार्ने देखिदैन। सुदूरपश्चिममा मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट छन्। नेकपा एमालेमा जतिसुकै विभाजन भएपनि, केन्द्रको सत्ता गठबन्धन अनुसार माओवादीका १३, काँग्रेसका १२ र जनता समाजवादीका २ जना गरी २७ जनाको बहुमत कायमै रहने छ। त्यसमा नेपाल समुहका सांसद अझ थपिने छन्। तर ओलीतिर रहेका मन्त्रीहरु भने परिवर्तन हुने सम्भावना देखिएको छ। अहिले एमाले संसदीय दलका नेतासमेत रहेका प्रकाशबहादुर शाह आर्थिक मामिला मन्त्री छन्। उनलाई भने परिवर्तन गर्ने सक्ने सम्भावना छ। यद्यपी नेपाल समुहकी केन्द्रीय सदस्य पुर्णा जोशीले भदौ २२ गते यता त्यस्तो कुनै परिवर्नतन नगरिने बताइन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाहेक नेकपा माओवादीका १३, कांग्रेसका १२ र समाजवादीका २ गरी २७ जना छन। ५३ सदस्यीय प्रदेश सभामा २७ जना नै बहुमत हो।

प्रदेश १ : एमालेका १० सांसद एकीकृत समाजवादी रोज्दै

एमाले विभाजनपछि प्रदेश १ मा १० सांसद नेकपा (एकीकृत समाजवादी) मा जाने भएका छन्। एमाले छाडेर माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको जानकारी गराएर निर्वाचन कार्यालयमार्फत सनाखत गराउने तयारी भइरहेको प्रदेश सांसद उपेन्द्र घिमिरेले बताए। ‘एमाले परित्याग गरेर नयाँ दल रोजेका १० जना सांसदले निर्वाचन कार्यालय पुगेर सनाखत गराउँदै छौँ,’ उनले भने ,‘त्यसका लागि दिउँसो १२ बजेपछि निर्वाचन कार्यालय पुग्ने तयारी छ।’

एमाले परित्यागको तयारी गरेका १० सांसद दुई दिनयता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउसमा बसेका थिए। त्यसअघि उनीहरु विराटनगरकै बिग होटलमा बस्दै आएका थिए। सांसदलाई होटलमा लुकाएको भन्दै आलोचना हुन थालेपछि समाजवादीका नेताहरुसहित सांसदहरु गत सोमबार धरान पुगेका हुन्।

प्रदेश १ सरकारको नेतृत्व गरिरहेको एमाले र नयाँ दल समाजवादीले सांसदलाई आ-आफ्नातिर तान्न जोडबल गरिरहेका बेला १० सांसद भने गोप्य रूपमा धरान गएर बसेको स्रोतले बतायो। स्रोतका अनुसार एमालेमै बस्न र नयाँ दलमा नजानका लागि दबाब आउन थालेपछि त्यसलाई थेग्न नसकेर सांसदहरुले विराटनगर छाडेका हुन्। धरानबाट सिधै विराटनगरस्थित निर्वाचन कार्यालयमा पुगेर नयाँ दल रोजेको जानकारीसहितको निवेदन दिएर सनाखत गराउने तयारी रहेको घिमिरेले बताए।

प्रदेश १ मा एकल बहुमत रहेकाले सरकारको नेतृत्व गरिरहेपनि विभाजनपछि एमाले नेतृत्वको सरकार संकटमा परेको छ। एमाले सचिव भीम आचार्यसहितले नेपालको साथ छाड्दै एमालेमै बस्ने घोषणा गरेपछि समाजवादीमा जाने सांसदको संख्या भने १० मा झरेको हो। आचार्य अहिले प्रदेश १ का मुख्यमन्त्री छन्। एमालेमै हुँदा नेपालको पक्षमा २५ जना सांसद देखिएका थिए।

पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै उत्पन्न ओली–नेपाल टकरावपछि अधिकांश सांसद नेपालको साथ छाड्दै ओली पक्षमा खुलेका हुन्। नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी नामक दल दर्ता गराएपछि अहिलेसम्म समाजवादीको पक्षमा १० जना मात्रै सांसद देखिएका छन्।

समाजवादीमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरीता थापा जाने भएका हुन्। ५१ जना सांसद साथमा हुँदा सुविधाजनक बहुमतसहित सरकारको नेतृत्व एमालेले गरिरहेको थियो। तर ९२ सदस्यीय प्रदेशसभामा १० सांसदले एमाले छाडेर नयाँ दल रोज्ने भएपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। प्रदेशमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलामा १–१ जना सांसद छन्।

सरकारमा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। एमालेले सांसद संख्या पुर्‍याउन नसक्दा गत बिहीबार मात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार लगभग ढल्ने निश्चित भइसकेको छ। उनी नेतृत्वको सरकार ढालेर कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट नयाँ सरकार बनाउने गृहकार्य प्रदेश १ मा भइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome