शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

हालै सम्पन्न विराट गोल्डकपको मुनाफा ८ लाख

१७ भाद्र, २०७८ ०८:५२ मा प्रकाशित

247 पटक पढिएको

birat gold cup press conference

काठमाडौं – विराटनगरमा गत वैशाख ४ गते सम्पन्न भएको विराट गोल्डकप फुटबल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक गरिएको छ। विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको हो।

२०७७ चैत २७ गतेदेखि सञ्चालित छैठौँ संस्करणको गोल्डकपमा ८ लाख रूपैयाँभन्दा बढी मुनाफा भएको आयोजकले जनाएको छ। गोल्डकप आयोजक समितिका संयोजक मनोजविक्रम शाहले प्रतियोगिताबाट ८ लाख २ हजार रूपैयाँ मुनाफा भएको जानकारी दिए।

उनका अनुसार १ करोड ४७ लाख ७४ हजार रुपैयाँ आम्दानी भएकोमा १ करोड ३९ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ। प्रतियोगिता हेर्न आउने दर्शकले काटेको टिकटबाट ५९ लाख ७६ हजार रुपैयाँ संकलन भएको शाहले बताए। प्रदेश १ सरकारले ४० लाख रुपैयाँ दिने जनाएर अन्तिममा १४ लाख ७७ हजारमात्र दिएको उनको भनाइ छ।

त्यस्तै विराटनगर महानगरपालिकाल ११ लाख, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट ३ लाख ९४ हजार, मुख्य प्रायोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको जानकारी उनले दिए।

प्रतियोगितामा पुरस्कार राशिबापत ३५ लाख ११ हजार, खेलाडी टोली खर्च ३२ लाख ३४ हजार, प्रचारप्रसारमा १५ लाख २५ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ ९ लाख ९६ हजार, कार्यालय व्यवस्थापनमा ९ लाख २८ हजार, मैदान मर्मतमा ४ लाख ८ हजारसहित अन्य विभिन्न शीर्षकमा खर्च भएको जनाइएको छ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले कोरोना महामारीका बावजुद प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको बताए। प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले चुमेको थियो। उसले फाइनलमा भारतको पञ्जाब पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै १५ लाख १५ हजार रुपैयाँ र ट्रफी हात पारेको हो।

पहिलो पटक नेपाली भूमिमा स्पर्धा गरेको पञ्जावले विराटनगरमा राम्रो छाप छाडे पनि उपविजेतामा चित्त बुझाउँदा ७ लाख ५१ हजार नेपाली रुपैयाँ मात्रै प्राप्त गर्‍यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइएको थियो। अन्य ७ विधामा उत्कृष्ट हुने खेलाडीले नगद २५ हजार प्राप्त गरेका थिए। प्रतियोगिताअन्तर्गत प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई प्रतिव्यक्ति १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome