बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

मोरङ प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

२० भाद्र, २०७८ १६:०४ मा प्रकाशित

227 पटक पढिएको

dead body

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको आइतबार दिउँसो मृत्यु भएको छ। लागुऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए।

कामतलाई प्रहरीले गत शुक्रबार दिउँसो विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो। जनपथ मार्गमै नास्ता पसल सञ्चालन गरेर बसेका उनलाई घरको कोठा र गाईको गोठमा भुसले छोपेर बोरामा प्याक गर्दै राखेको अवस्थामा गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारी गरेको थियो।

कामत पक्राउ परेको दिन शुक्रबार समय सकिएको र शनिबार सार्वजनिक बिदा भएकाले उनीविरुद्ध आइतबार अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी थियो। प्रहरीका अनुसार म्याद थप गर्न अदालत लैजानलाई हिरासतबाट बाहिर निकाल्ने क्रममा रिंगाटा चल्यो भन्दै उनी एक्कासि ढलेका थिए।

मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः१५ बजेतिर मृत्यु भएको एसपी जीसीले बताए। प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषधका दुर्व्यसनी भएको पत्ता लागेको प्रहरीले जनाएको छ। साथै लागुऔषध गाँजाको कारोबारमा पनि उनी संलग्न रहेको दाबी प्रहरीले गरिरहेको थियो।

‘एक्कासि बेहोस भएर ढलेका थुनुवालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइयो,’ एसपी जीसीले भने, ‘उपचारकै क्रममा मृत्यु भएको हो।’ नियमित लागुऔषध सेवन गर्ने र प्रहरी हिरातमा हुँदा सेवन गर्न नपाएका कारण पुगेको असरले उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जानकारी जीसीले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome