शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

मोरङबाट भरुवा बन्दुक बनाएर बेचबिखन गर्ने एक जना पक्राउ

२१ भाद्र, २०७८ १७:१६ मा प्रकाशित

625 पटक पढिएको

local gun maker

काठमाडौं – मोरङको बेलबारीका एक व्यक्तिले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गरिरहेको खुलेको छ। प्रहरीले भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरिएको बेलबारी नगरपालिका–१ स्थित आशबहादुर लिम्बूको घरमा छापा मारेको छ।

घरमा छापा मार्दै प्रहरीले बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने सामग्री, विष्फोटक पदार्थ र वन्यजन्तु हरिणको अंगसहित ५२ वर्षीय लिम्बूलाई आइतबार साँझ पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार लोड गरिएको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काजो, बसिला, राँबो, हथौडा, आरा लगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको छ। पक्राउ परेका लिम्बूको घरबाट हरिणका ५ वटा सिङ पनि बरामद गरिएको उनले बताए।

घरमै कारखाना चलाउँदै बन्दुक बनाएर बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले लिम्बूको घरमा छापा मारेको श्रेष्ठको भनाइ छ। उनका अनुसार लिम्बू आफैँले बन्दुक बनाउने र वन्यजन्तुको चोरी सिकारी गर्ने समूहलाई बेच्ने गरेको पाइएको छ। त्यस्तै उनी वन्यजन्तुको तस्करी एवं अंगको अवैध ओसारपसार र कारोबारमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ।

जंगली जनावरको चोरी सिकारी गर्ने समूहसँग सम्पर्क बढाउँदै लिम्बूले वन्यजन्तुका अंगको पनि अवैध कारोबार गर्ने गरेको प्रहरीको दाबी छ। हरिणको सिङ घरबाट बरामद भएपछि वन्यजन्तुका अंग तस्करी एवं कारोबारमा उनको संलग्नता पुष्टि भएको जानकारी डीएसपी श्रेष्ठले दिए।
प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाउने भएको छ। त्यस्तै वन्यजन्तुका अंगको कारोबारका विषयमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome