सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

एमसीसी पारित गर्नुपर्छ : भट्टराई

२१ भाद्र, २०७८ १७:२० मा प्रकाशित

486 पटक पढिएको

dr baburam bhattarai

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन्। उनले आइतबार मध्यराति ट्वीट गर्दै नेपाल र अमेरिका सरकारबीच चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन्।

भट्टराईले तत्काल तीनवटा विषयमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखेका छन्। उनले भारतलाई असल छिमेकी बनाउनुपर्ने, चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) र अमेरिकाको एमसीसी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन्।
‘उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं । चीनसँगका बीआरआई, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं ।’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं।’

एमसीसीको विषयमा पक्ष र विपक्षमा बहस भइरहेका बेला भट्टराईले आफ्नो धारणा राखेका हुन्। उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्ने स्पष्ट पारेका छन्। उनले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गर्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने बताएका छन्। भट्टराईले देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्।

केहि दिनदेखि एमसीसी, दार्चुला तुइन प्रकरण र सरकारले नेपाल-चीन सीमा अध्ययन समिति बनाएपछि सडकमा प्रदर्शन, सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुन थालेको छ। दार्चुला तुइन प्रकरण र अनधिकृत रुपमा नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडान गरेको विषयलाई लिएर युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए। सोहि घटनापछि मन्त्रालयले मोदीको नाम नलिई नाराबाजी, जुलुस प्रदर्शन र पुत्ला दहन गरेकोप्रति सरकारले आपत्ति प्रकट गरेको हो। दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे छानविन गर्न बनेको समितिले गोलमटोल प्रकृतिको प्रतिवेदन सरकारलाई बुझाएको छ।

सरकारले यथार्थ विवरण सार्वजनिक नगरेको र भारतलाई पत्र नपठाएको भन्दै विरोधमा उत्रन थालेपछि गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृहमन्त्रालयले मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरुपमा सञ्चार-माध्याम/सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्किपूर्ण अभिव्यक्तिजस्ता गतिविधि रोक लगाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome