बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

एकै परिवारका १४ जनामा कोरोना भेटिएपछि मोरङको रंगेली सिल

२० श्रावण, २०७७ १६:२२ मा प्रकाशित

401 पटक पढिएको

rangeli morang

विराटनगर – कोरोना संक्रमित भेटिने क्रम बढेपछि मोरङको रंगेली नगरपालिकाका चारवटा वडा मंगलबारबाट सिल गरिएको छ । रंगेली मोरङको पुरानो सदरमुकाम हो ।

मानिस तथा सवारी साधन आवतजावतमा पूर्णरुपमा रोक लगाउँदै ४, ५, ६ र ७ नम्बर वडा सिल गरिएको हो । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन दिनलाई जोखिमयुक्त मानिएका वडाहरु सिल गरिएको नगरले जनाएको छ ।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसाङ खोला, उत्तरमा निचामारी बक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रलाई लक्षित गरेर चारवटै वडा सिल गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले एउटै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएका कारण वडाहरु सिल गर्नु परेको जानकारी दिए । केही दिनअघि रंगेलीको मुख्य बजार क्षेत्रका ७३ वर्षीय वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

उनको ब्रेनह्याम्रेजका कारण मृत्यु भएको जनाइएको थियो । तर उनको मृत्युपछि भेला जम्मा भएर दाहसंस्कारदेखि लिएर काजकिरियाका अन्य प्रक्रियामा पनि सहभागी भएका एउटै परिवारका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अधिकृत सुवेदीको भनाइ छ । उनकाअनुसार १४ जनाको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । अहिले मृतकको घर पुग्ने तथा उनीहरुका परिवारका अन्य सदस्यको पहिचान गर्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको जानकारी सुवेदीले दिए ।

नगरपालिकाकाअनुसार मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौंबाट रंगेली घर आएका थिए । करिव एक महिनाअघि मृतककी छोरी दिल्लीबाट रंगेली आएकी थिइन् । दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर महानगरपालिका-१० ले होटलमा क्वारेन्टाइनमा बस्ने अनुमित दिएको थियो । विराटनगरको वडाले दिएको सिफारिसका आधारमा मृतककी छोरी त्यतिबेला रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।

रंगेलीमा सोमबार २२ जनालाई कोरोना देखिएको थियो । ती मध्ये रंगेली–७ स्थित बजार क्षेत्रमा एउटै परिवारका १४ जना रहेको जनाइएको छ । उनीहरुको ‘ट्राभल हिस्ट्री’ भेटिएको छैन । संक्रमितमध्ये पाँचजना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीनजना रंगेली अस्पतालका कर्मचारी छन् ।

‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित भेटिएसँगै रंगेलीमा समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए । संक्रमितलाई स्थानीयस्तरमा संक्रमण भएको उनले बताए ।

त्यसअघि नगरपालिकामा १० जनामा संक्रमण देखिएको थियो । ती संक्रमित भारत तथा तेस्रो मुलुकबाट आएकाहरु थिए । अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलबारबाट रंगेली अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome