शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

३० भाद्र, २०७८ १९:४२ मा प्रकाशित

697 पटक पढिएको

province 1 assembly

काठमाडौं – प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थप भएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्री नियुक्त गर्दै प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

यद्यपि आचार्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेको छ। उनले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री नियुक्त गरे। उत्तमकुमार बस्नेत उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन्।

आचार्यले बलबहादुर साम्सुहाङलाई सामाजिक विकास र लछुमन तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री यसअघि नै नियुक्त गरिसकेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्राल र भौतिक पूर्वाधार मन्त्रालय आचार्यले आफैसँग राखेका छन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। राज्यमन्त्रीमा नियुक्त भएकालाई मुख्यमन्त्री आचार्यले नै शपथ गराए। नेकपा एमाले विभाजन भएको दोस्रो दिन गत भदौ १० गते एमाले सचिव आचार्य प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

नेकपा एमालेका ५१ जना प्रदेश सांसदमध्ये १० जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। आचार्य नेतृत्वको सरकारले बहुमत गुमाएपछि प्रदेशमा गठबन्धनका तर्फबाट नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ।

९२ सदस्यीय प्रदेशसभामा नयाँ सरकार बनाउनलाई बहुमत पुर्‍याउनका लागि ४७ सांसद आवश्यक पर्छ। तर मुख्यमन्त्रीको दल नेकपा एमालेसँग सभामुखसहित ४१ जनामात्रै सांसद छन्। जसका कारण कांग्रेस, माओवादी, जसपासमेतको विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने देखिन्छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आगामी असोज २२ गतेका लागि प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय लिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome