आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

नेपालमा पहिलोपटक निजी कार्गो रेल

३० भाद्र, २०७८ २०:१२ मा प्रकाशित

767 पटक पढिएको

private cargo train in nepal

काठमाडौं – भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलोपटक बुधबार नेपाल आइपुगेको छ। नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक बुधबा बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो।

हिम्ड टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिए। उनका अनुसार हिम्ड टर्मिनल प्रालिले सातामा दुई दिन कार्गो ढुवानी गर्ने जनाएको छ भने हिम्डसँगै अन्य चार कम्पनीले समेत कार्गो ढुवानीमा इच्छुक देखाएका छन्। उनले भने, ‘पहिलो पटक हिम्डले कार्गो रेल सेवा सुचारु गरेको छ। सो कार्गोसँगै अन्य ४ कम्पनीले समेत कार्गो ढुवानीमा इच्छुक देखिएका छन्। निजी क्षेत्रका कार्गो रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनी बढ्ने अनुमान छ।’

रेल सेवा संशोधनपछि निजी कार्गो

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको थियो। १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो।

रेल सेवा संशोधनको करिब दुई महिनापश्चात् पहिलो पटक निजी कार्गो रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो। गत असार २५ गते रेल सेवा सम्झौता संशोधनमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो।

नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता-हल्दियासम्म रेल सेवा दिनसक्ने गरी सम्झौता संशोधन गरिएको थियो। यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको थियो।

नेपालको सामान ढुवानीमा भारतीय रेल कम्पनीको एकाधिकार तोडियो

तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका कार्गो (मालसामान) ढुवानीमा, भारतको सरकारी रेल कम्पनीको एकाधिकार तोडिएको छ।

नेपालका लागि रेल मार्फत हुने ढुवानीमा बुधबारदेखि भारतीय निजी कम्पनी हिन्द टर्मिनल्स प्रालिले सेवा सुरु गरेको छ। भारतबाट नेपालमा रेल्वे मार्फत हुँदै आएको मालसामानको ढुवानीमा, भारतीय निजी कम्पनीको प्रवेशले भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम (कोन्कर) कम्पनीको एकाधिकार तोडिएको हो।

विक्रम संवत २०६१ साल साउन १६ गतेदेखि सञ्चालनमा आएको वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहमा अहिलेसम्म कोन्करले मात्रै नेपालको मालसामान भारतबाट रेलमार्फत ढुवानी गर्दै आएको थियो। तर बुधबारदेखि निजी कम्पनी ‘हिन्द टर्मिनल्स प्रालि’ले भारतको बन्दरगाहबाट नेपालको मालसामान रेल मार्फत ढुवानी सुरु गरेको हो।

भारतको हल्दिया बन्दरगाहबाट नेपालका लागि ९० वटा कार्गो सहितको कन्टेनर बोकेर हिंडेको हिन्द टर्मिनलको रेल पहिलो पटक बुधबार बिहान १० बजेतिर सिर्सिया बन्दरगाहमा आइपुगेको हो।

बुधबार बिहान सुख्खा बन्दरगाहमा कार्गो सहित आइपुगेको उक्त रेललाई नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेल, सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्री, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, हिन्द टर्मिनल्स प्रालिका महाप्रवन्धक ऋषि सिंह लगायतले स्वागत गरेका थिए।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौता अनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा मालसामानको ढुवानी सेवा दिंदै आएको थियो।

तर गत जुलाइ २१ तारिकमा नेपाल र भारत दुवै देशका सचिव स्तरीय बैठक बसेको थियो। उक्त बैठकले दुई देश बीचको रेल सेवा सम्झौता पुनरावलोकन गरी संशोधन गरेपछि नेपालमा निजी क्षेत्रको रेलले पनि ढुवानी गर्न पाउने बाटो खुलेको थियो।

सम्झौता संशोधन गरिएको २ महिना ६ दिनमा बुधबार पहिलोपटक निजी क्षेत्र हिन्द टर्मिनलको रेल नेपालको ९० कन्टेनर कागो बोकेर सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए।

नेपाली उद्योगी र आयातकर्ता खुशी

भारतबाट रेल मार्फत नेपालको सामानको ढुवानीमा भारतको एक मात्र कम्पनीको एकाधिकार तोड्दै निजी क्षेत्रले पनि प्रवेश पाएपछि नेपाली उद्योगी र आयातकर्ता खुशी भएका छन्। यसले तेश्रो मुलुकबाट भारत हुँदै आयात हुने कार्गोको ढुवानी सहज हुनुका साथै ढुवानी लागत पनि घट्ने नेपाली उद्योगी र आयातकर्ताले बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले रेल मार्फत हुने ढुवानी सेवामा एउटा मात्रै सेवाप्रदायकको एकाधिकार तोडिएर निजी क्षेत्रको प्रवेशले ढुवानी सेवा सहज हुने ढुवानी लागत पनि कम पर्ने बताए।

गुप्ताका अनुसार रेल मार्फत हुने ढुवानी सेवामा एउटा मात्र सेवा प्रदायकको एकाधिकार हुँदा नेपाली आयातकर्ताले विभिन्न किसिमका समस्या खेप्दै आएका थिए।

कहिले काहीं रेल नपाएर नेपाली कार्गो भारतीय बन्दरगाहमै लामो समय भण्डारण गरेर राख्नु पर्थ्यो जसका कारण कार्गो समयमै नेपाल आइपुग्थेन।

समयमा रेल नपाएर भारतीय बन्दरगाहमा लामो समय कार्गो भण्डारण गरेर राख्नु पर्दा डिटेन्सन चार्ज तिर्नु पर्थ्यो। एउटा मात्र ढुवानी कम्पनी हुँदा ढुवानी भाडा दरमा उसको मनोमानी थियो। यी सब कारणले कार्गोको ढुवानी लागत बढाएको थियो। तर अब निजी कम्पनीले पनि रेल मार्फत ढुवानीको सेवा सुरु गरेपछि यी सबै समस्या नहुने अपेक्षा गरिएको अध्यक्ष गुप्ताले बताए।

अब समयमै कार्गो नेपाल सम्म आइपुग्ने र ढुवानी लागत पनि कम पर्ने गुप्ताले बताए। यसका साथै एक मात्र सेवाप्रदायकको एकाधिकार तोडिएर अरु क्षेत्रको पनि प्रवेश भएकाले रेलको ढुवानी भाडा पनि सस्तो हुने उनले बताए। गुप्ताले भने, ‘पहिले एउटा मात्रै सेवाप्रदायक हुँदा हामीसँग अर्को विकल्प थिएन, अब अरु सेवाप्रदायकले पनि सेवा सुरु गरेको छ। यसले भाडामा हामीले बार्गेनिङ गर्न पाउँछौं।’

अरु निजी कम्पनीले पनि रुची देखाएका छन्

नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले पनि कार्गोको ढुवानीमा निजी रेल सेवाको पनि प्रवेशले नेपाली आयतकर्तालाई अब धेरै सहज हुने बताए। गजुरेलका अनुसार रेल मार्फत हुने ढुवानी सेवाका लागि अहिले सेवा सुरु गरेको हिन्द टर्मिनल्स प्रालिका बाहेक भारतकै अरु दुई वटा निजी कम्पनीले रुचि देखाएका छन्।

वीरगन्जको सुख्खा बन्दरगाह सञ्चालन गरिरहेको भारतीय प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्स र भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगन्जसम्म रेल मार्फत कार्गो र कन्टेनर ढुवानीको तयारी गरिरहेको गजुरेलले बताए।

कोन्कर सहित ४ वटा सेवा प्रदायक भएपछि प्रतिस्पर्धा बढ्ने र यसले नेपाली आयात कर्तालाई कार्गोको ढुवानीमा सहजतका साथै ढुवानी लागत पनि कम पर्ने निश्चित रहेको गजुरेलले बताए। जुलाइमा भएको दुई देशबीच रेल्वे सेवा सम्झौताको संशोधनले नेपाल रेल्वे कम्पनीलाई पनि भारतबाट नेपालमा कार्गो ढुवानीका लागि बाटो खुलेको गजुरेलले बताए।

बिशाखापटनम बन्दरगाहबाट पनि सेवा सुरु गर्ने तयारी

बुधबारदेखि नेपालमा रेल ढुवानी सेवा सुरु गरेको हिन्द टर्मिनल्स प्रालिका महाप्रबन्धक ऋषि सिंहले आफ्नो कम्पनीले अहिलेका लागि भारतको हल्दिया र कोलकता बन्दरगाहबाट नेपालको कार्गो ढुवानी सेवा सुरु गरेको बताए।

उनले निकट भविष्यमै बिशाखापटनम बन्दरगाहबाट पनि नेपालको कार्गो ढुवानी सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी पनि दिए। नेपाली आयातकर्ताले तेश्रो मुलुकबाट आयात गरेको मालसामान, सामुन्द्रिक मार्ग हुँदै भारतको कलकत्ता, हल्दिया र बिशाखापटनम बन्दरगाहमा पुगेर त्यहाँबाट रेलमार्फत वीरगन्ज स्थित सुख्खा बन्दरगाहमा ढुवानी गर्ने गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome