बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

वर्षमा झण्डै सय नक्कली शैक्षिक प्रमाणपत्र !

२ आश्विन, २०७८ १७:५५ मा प्रकाशित

662 पटक पढिएको

fake school certificate

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार वर्षमा ८० देखि एक सय वटा शैक्षिक प्रमाणपत्र नक्कली फेला पर्छन् । शैक्षिक प्रमाणपत्र नक्कली लिएर आउने आफन्त वा स्वयंलाई बोर्डले प्रश्न गर्दा केहीको जवाफ हुन्छ, ‘१० हजार तिरेर शैक्षिकप्रमाण पत्र बनाएँ । के गर्नु विदेश जान शैक्षिक योग्यता खोज्छ ।’ मुख्यतः प्रहरी सेवा, शिक्षक, उच्च ओहोदामा बसेका व्यक्तिहरुविरुद्ध शैक्षिक प्रमाणपत्र सन्दर्भमा उजुरी पर्ने गर्छन् ।

केही व्यक्तिहरुले सीम्बोल नम्बर, अंक र विद्यालयको नाम एउटै तर व्यक्तिको नाम फरक गराएर पनि शैक्षिक प्रमाणपत्र खडा गर्ने गरेका छन् । केहीको एसएलसी वा एसईईको सीम्बोल नम्बर, अंक र विद्यालयको नाम नै परिवर्तन गराएर शैक्षिक प्रमाणपत्र बनाउने गरेको खुलेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीमा तत्कालीन सहायकस्तर चौंथो (खरिदार) पदमा कार्यरत सुग्रीम कुर्मीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटियो । अनुसन्धानका क्रममा कुर्मीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली (झुठ्ठा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको तथा सोही प्रमाणपत्रको आधारमा बढुवासमेत भएको देखियो । कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको थियो ।

किर्ते शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैशाख पहिलो साता सात जनालाई पक्राउ गर्‍यो । ब्यूरोले बङगलादेशमा एमबिबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसीटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायत विवरणहरू सच्याई किर्ते मार्कसीट बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । जसमा प्राप्ताकंको कुल अंक एउटै भए पनि केही विषयमा फरक फरक अंक चढाइ नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको खुल्न आएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय एसईईले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय(एसईई) का सहपरीक्षा नियन्त्रक भवराज कोइरालाका अनुसार शैक्षिक प्रमाणपत्रको वैधतामाथि पटक पटक प्रश्न उठेका कारण पनि शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण (सत्यापन) गर्नुपर्ने भएको छ । उनले भने, ‘शैक्षिक प्रमाणपत्र प्रमाणिकरणका क्रममा सक्कली\नक्कली भनेर रेकर्ड राख्दैनौँ । भिडाउँदा सक्कली देखियो भने सक्कली र नक्कली भए नक्कली हो भनेर मात्रै भन्छौँ । शैक्षिक प्रमाणपत्र भिडाउने निकायले पठाउने निकायले जे भनेर पठाएको हो त्यही भाषामा हामीले खुलाएर पठाउँछौं । ’

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा दैनिक एकदेखि दुई सय जना शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि आउने गर्छन् । कोइरालाले भने, ‘शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्दा कसैका आफन्त पनि आउँछन् । नक्कली सर्टिफिकेट लिएर उसलाई पक्राउ गरेर हेर्दा मान्छे अन्तै हुन्छ । पक्राउ गरेर मात्रै भएन त्यसको लागि जनशक्ति हामीकहाँ छैन । त्यसैले नक्कली प्रमाणपत्र खिचेर राख्छौँ तर पक्रँदैनौं । अनुसन्धान गर्ने निकाय हामी होइनौँ र बोर्डलाई अख्तियारी पनि छैन ।’

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कुनै राष्ट्रसेवकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएमा ६ महिनादेखि एक वर्षसम्म कैद र दशदेखि बीस हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ । कसुर गरेको मुनासिव कारण भएमा अख्तियारले मुद्दा दायर गर्ने र उक्त मुद्दाको किनारा नलागुन्जेल सम्बन्धित व्यक्ति स्वत निलम्बनमा पर्ने व्यवस्था छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका अनुसार आ.व. २०७६\७७ मा ९५३ वटा उजुरीहरु जिम्मेवारी सरेर आएका छन् । आ.व. २०७७\७८ मा ३१६ वटा उजुरीहरु दर्ता हुन आएका र ९५३ अघिल्लो आ.व. का उजुरीहरु गरी कुल १२६९ वटा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीहरु छन्।

जसमध्ये कुल २८७ वटा उजुरीहरु (क्षेत्रगत उजुरीमध्ये ५.६१%) अर्थात कुल नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीको २२.६२% उजुरीहरु फर्छ्यौट भएका छन् । सोही अवधिमा (आ.व. २०७७/७८ मा) जम्मा ७ वटा उजुरीहरु मुद्दाको रुपमा दायर भएका छन् यस अवधिमा कुल ३१ वटा मुद्दाहरुमा सम्मानित अदालतवाट फैसला भएका छन् ।

कसले माग्छ शैक्षिक योग्यता प्रमाणपत्र प्रमाणीकरणको विवरण ?

पछिल्लो समय वैदेशिक रोजगार विभाग मार्फत् काममा जानेहरुले रोजगारदाता कम्पनी वा सम्बन्धित देशको सरकारले न्युनतम एसईई वा एसएलसीको योग्यता खोज्न थालेका छन् ।

जसकारण उनीहरु पनि शैक्षिक योग्यता प्रमाणीकरणका लागि आउने गर्छन् । शिक्षक किताबखानाले आवश्यक ठानेमा अवकाश पाउने शिक्षकहरुले जन्ममिति प्रमाणीकरण झिकाउँछ । त्यसका लागि शिक्षकहरुलाई बोर्डसमक्ष प्रमाणीकरणका लागि निवेदन पेश गर्नुपर्ने हुन्छ । निजामति कर्मचारीहरुको प्रोमोसन(स्तरबृद्धि) को समयमा, विश्वविद्यालयहरुको स्नातकोत्तर तहको थेसिस, एमफील, पिएचडी थेसिस दिनुअघि पनि एसएलसी शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण माग हुँदै आएको छ ।

सक्कली नक्कली के आधारमा पुष्टि हुन्छ ?

बोर्डका अधिकारीहरुका अनुसार २०५७ सालदेखि एसएलसी दिएका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रको रेकर्ड अनलाइनमा राखिँदैआएको छ । जन्ममिति, सिम्बोल नम्बर र एसएलसी उत्तिर्ण वर्ष वा अन्य रेकर्डबाट पुष्टि गरेपछि अन्तिममा वास्तविक व्यक्तिको नाम रेकर्डमा देखिन्छ । तर, कतिपय व्यक्तिले जन्ममिति, सिम्बोल नम्बर र एसएलसी उत्तिर्ण वर्ष तलमाथि गराएर प्रमाणपत्र प्रमाणीकरणका लागि बोर्डमा पुग्ने गर्छन् ।

बोर्डका सहपरीक्षा नियन्त्रक कोइरालाले भने, ‘तपाईँको शैक्षिक प्रमाणपत्र बाहिर कहाँ छ बनाउने ठाउँ त्यहाँ गएर सिम्बोल नम्बर प्राप्त अंक एउटै बनाइन्छ तर, नाम डुप्लिकेशन गरेर अर्को व्यक्तिको नाम राखिन्छ वा बनाइन्छ । सर्टिफिकेट छानविनको घेरामा गयो भने हामीलाई सम्बन्धित निकायले सर्टिफिकेट हामीकहाँ पठाउँछ । शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण एक घण्टाभित्र उपलब्ध गराउन सकिने गरी व्यवस्था मिलाइएको छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome