शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संयुक्त प्रगतिशिल सरकार गठनबारे छलफल

३ आश्विन, २०७८ १७:१६ मा प्रकाशित

634 पटक पढिएको

biplav in kathmandu

काठमाडौं – विप्लव नेतृत्वको नेकपाको ११ औँ पूर्ण बैठक आइतबार तेस्रो दिन बन्दीपुरमा जारी छ । प्रतिवन्ध फुकुवापछिको पहिलो बैठकमा महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल भइरहेको बैठकमा सहभागी गोरखा जिल्ला सचिव कपिल भट्टले जानकारी दिए ।

महासचिव विप्लवले पहिलो दिन संयुक्त प्रगतिशिल सरकार गठन गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए । मुलुकलाई यो व्यवस्थाले सहज निकास दिन नसकेको भन्दै उनले वैज्ञानिक समाजवाद नै अबको निकास भएको राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै, संविधान सभाबाट जारी भएको यो संविधान पूर्ण नरहेकाले यसलाई विघटन गरी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव समेत पेश गरेका थिए । महासचिवले शुक्रबार पेश गरेको प्रस्तावमाथि शनिबार आइतबार छलफल सम्पन्न गरी सोमबार निश्कर्ष निकालेपछि बैठक सम्पन्न हुने गोरखाका सचिव भट्टले जानकारी दिए ।

बैठकको अन्तिम दिन मंगलबार अबको राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने कार्यक्रम रहेको उनले बताए । साथै अहिले पार्टीमा पोलिटब्यूरोको संरचना नरहेकाले यो पुनर्गठन हुनसक्ने अनुमान गरिएको छ ।

सरकारले लगाएको प्रतिबन्ध गत फागुन २१ मा फुकुवा भएको थियो । ओली सरकारसँग ३ बुँदे सहमतिपछि खुल्ला राजनीतिमा सक्रिय नेकपाको यो बैठकले पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा, रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा महासचिव विप्लवलगायतका कार्यालय सदस्यहरु खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड), धर्मेन्द्र वास्तोला(कञ्चन), हेमन्तप्रकाश ओली(सुदर्शन), सन्तोष बुढामगर(बिषम) लगायत केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज तथा सचिवहरु सहभागी छन् ।

तनहूँको बन्दीपुरस्थित बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकका सहभागीहरु आसपासका घर तथा होटलहरुमा बसेका छन् । सहभागीलाई बैठकभित्र मोबाइल बोक्न तथा फोटो खिच्न निषेध गरिएको उनले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome