शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

मधेसीलाई गोली हानेर बनाइएको संविधान स्वीकार्य छैन : ठाकुर

४ आश्विन, २०७८ १५:३६ मा प्रकाशित

707 पटक पढिएको

loktantrik samajbadi party

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा )का अध्यक्ष महन्थ ठाकुरले अधिकारका लागि सडकमा निस्कएका मधेसी जनतालाई गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको बताएका छन्। पर्साको पकाहामैनपुरमा आइतबार आयोजित शहिद सत्रुधन पटेलको श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै ठाकुरले मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको बताए।

ठाकुरले भने, ‘जबसम्म मधेसका माग समेटिंदैनन् तबसम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन्, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउँछन्।’ संविधान जारी हुनुपूर्व आफ्ना माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाई खस शासकले बदलाको भाव राखेर गोली चलाइ हत्या गरेको आरोप उनले लगाए।

अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने, ‘अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन्, सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन्।’ माओवादी सशस्त्र युद्धका घाइतेलाई राज्यले भरपोषण गरिरहेको तर मधेस आन्दोलनका घाइतेहरुलाई भने वास्ता नै नगरेको गुनासो उनले गरे।

लोसपाका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेसी र मधेसीका अधिकारको हत्या भएको दिन भएको टिप्पणी गरे। मधेसी पनि नेपाली हुन्, त्यसैले मधेसीको अधिकार पनि समेटेर संविधान जारी गर भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिंदा सरकारले गोली चलाएर मधेसीको हत्या गरेको महत्तोले बताए। त्यसैले यो विभेदकारी संविधान नसच्चिएसम्म मधेसीको संविधान नहुने उनले बताए।

जसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए। उनले भने, ‘संविधान लेख्ने बेलामा हामीले मधेसीलाई पनि नेपाली ठानेर मधेसको पनि मुद्धा समावेश गरिदेऊ भनेर माग गर्यौं , सडकमा निस्क्यौं तर खसवादी दल र त्यस बेलाको सरकारले मधेसी माथि गोली चलायो। मधेसीको छातीमा बुटले बजार्यो अनि बन्दकुको बलमा एकलौटी संविधान जारी गर्यो।’

उनले आज मुलुकले पाएको संघीयता र समानुपातिक समावेशिताको उपलब्धी मधेस विद्रोहकै उपलब्धी भएको जिकिर पनि गरे। उनले भने, ‘संघीयता , समानुपातिक समावेशिता जस्ता उपलब्धी मधेस विद्रोहकै देन हो।’

श्रद्धान्जलीसभाई लोसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रदेश सभासदस्य रमेश कुर्मी, प्रहलाद गिरी लगायतले पनि सम्बोधन गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome