शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

संखुवासभा हत्याकाण्डमा संलग्न थप चारजना सार्वजनिक

४ आश्विन, २०७८ १५:४२ मा प्रकाशित

292 पटक पढिएको

shankhuwasabha massacre culprits

काठमाडौं – प्रहरीले संखुवासभाको मादी नगरपालिकामा गत साता भएको सामूहिक हत्याकाण्डमा संलग्न थप चारजनालाई सार्वजनिक गरेको छ। सार्वजनिक हुनेमा ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय खाँदबारीमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले मादी हत्याकाण्डमा संलग्न थप चारजनालाई सार्वजनिक गरेको हो।

भदौ २१ गते बिहान लोकबहादुरसहित अन्य चारजनाले योजनावद्ध तरिकाले एकै परिवारका ६ जनाको सामूहिक हत्या गरेका थिए। घटनाको अघिल्लो दिन मुख्य योजनाकार खड्गबहादुर कार्कीको घरमा तेजबहादुरको हत्या गर्ने योजना बनेको थियो।

सुरुमा लोकबहादुरले मात्रै परिवारका ६ जनाको हत्या गरेको बताइए पनि अनुसन्धानका क्रममा बाँकी चारजनालाई पक्राउ गरेको हो। घटनाको सातौं दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो।

पक्राउ परेका सबैजना मिलेर हत्याको योजना बनाएका थिए। तेजबहादुरको हत्या गर्दा अन्य कसैले देखेमा उनीहरुको समेत हत्या गर्ने योजना बनेको थियो। तेबहादुरसँगको व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उनीहरुले सुरुमा तेजबहादुरको मात्र हत्या गर्ने योजना बुनेका थिए। पछि तेजबहादुरको हत्या गर्ने क्रममा परिवारका अन्य सदस्यहरुले देखेपछि उनीहरु सबैको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अभियुक्तहरुले ६ जनालाई आफूहरुले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनीहरुले ८४ वर्षीया पार्वता, ५८ वर्षीय तेजबहादुर, ५२ वर्षीया कमला, ३२ वर्षीय रञ्जना, ११ वर्षीय दीपेन र ७ वर्षीय गोमा कार्कीको सामूहिक हत्या गरेका थिए ।

यसअघि लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई पक्राउ गरेको थियो। नरेशको बयानपछि प्रहरीले अन्य तीनजनालाई पक्राउ गरेको थियो। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल पुगेको थियो।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। मोबाइल स्विच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome