मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

नेपाली फिल्म नपाएपछि विदेशी फिल्म प्रदर्शन गरेर हल खुलाउने तयारी

४ आश्विन, २०७८ १५:४४ मा प्रकाशित

342 पटक पढिएको

movie theatre

काठमाडौं – चलचित्र निर्माता संघले नेपाली फिल्म दिन नमानेपछि विदेशी फिल्म प्रर्दशन गरेरै हल खुलाउने तयारी थालिएको छ। नेपाली हल सञ्चालकहरुले आगामी असोज १५ देखि विदेशी फिल्म चलाएर हल सञ्चालनमा ल्याउने तयारी थालेका छन्।

सरकारले सहुलियत नदिएसम्म नेपाली फिल्म हल सञ्चालकलाई नदिने निर्माता संघले निर्णय गरेको छ। संघका अध्यक्ष आकाश अधिकारीले ठुलो लगानीमा निर्माण गरीएका फिल्महरु हलमा प्रर्दशन हुँदा जोखिमको जिम्मेवारीबारे अन्यौलता छाएको बताए। उनले भने, ‘कोरोना जोखिम अझै कायम छ। नेपाली फिल्म दिएपछि दर्शकको संख्या न्युन होला, प्रचारप्रसारमा समस्या होला अनि यसको जोखिमको जिम्मेवारी कसले लिने?’

निर्माता संघका अनुसार ३५ फिल्महरु हलमा जाने तयारी अवस्थामा रहे पनि कहिले जाने अझै अन्योल छ। उनले भने, ‘नेपाली फिल्म प्रर्दशन भएपछि यसको जोखिमको जिम्मेवारी सरकारले लिनुपर्छ। सरकारले माग पूरा नगरेसम्म फिल्म दिन सकिने अवस्था छैन। ’

फिल्म प्रर्दशन भएको समयदेखि ६ महिनासम्म सरकारले ५० प्रतिशत आर्थिक सहयोग गरे फिल्म दिन सकिने निर्माता संघको भनाइ छ। धेरै लगानीमा बनेका फिल्महरुलाई सरकारले राहत दिनुपर्ने निर्माताहरु बताउँछन्।

फिल्म हल सञ्चालक जीवन शाक्यले निर्माता संघले फिल्म नदिए विदेशी फिल्म चलाएर भए पनि हल सञ्चालनमा ल्याउने बताए। उनले भने, ‘चलचित्र निर्माता संघलाई बारम्बार पहल गर्दा पनि फिल्म नदिएपछि विदेशी फिल्म प्रर्दशन गर्ने सोच बनाएका छौं। नेपालका सबै मल्टिप्रेसहरु हल खुलाउने पक्षमा रहेका छौं। ’

हलमा अर्बौं रकम घाटा भएको भन्दै जसरी पनि हललाई चलायमान बनाउनुपर्ने उनले बताए। शाक्यले भने, ‘अंग्रेजी र हिन्दी दुबै फिल्म भए पनि प्रर्दशन गरेर हल सञ्चालन गर्ने नै हो। भ्याट, टिकटमा सेयर बढाइदिन्छौं भन्दा पनि निर्माता संघले फिल्म दिन आनाकानी गरिरहेको छ।’ तर, हल सञ्चालकहरुले फिल्म प्रर्दशन भएपछि त्यसको जोखिमको जिम्मेवारी लिन नसक्ने अडान राखेको छ।

काठमाडौं उपत्यकामा २७ हलहरु रहेका छन्। फिल्महरु नभएपछि नयाँ हलहरु सञ्चालनमा आउन सकेका छैनन्। हल सञ्चालन नहुँदा घाटा व्यहोर्नुभन्दा विदेशी फिल्म प्रर्दशन गरेर भए पनि चलायमान बनाउनुपर्ने हल सञ्चालक बताउँछन्।

चलचित्र निर्माता संघले नेपाली फिल्म चलाउँदा जोखिम हुने भन्दै जोखिमको सुनिश्चितता गरेर हल खुलाउन पनि पहल गरेको छ। चलचित्र विकास बोर्डले फिल्म प्रचारपसारको लागि बजेट दिने भए पनि बोर्ड नै बजेटविहीन रहेको बताएको छ।

बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म हल सञ्चालनमा ल्याउन निर्माता संघ, हल सञ्चालकसँग समन्वय गरीरहेको बताए। उनले भने, ‘संयुक्त पहल भइरहेको छ। छलफल भएपछि मात्रै यसबारे थप भन्न सकिन्छ। ’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome