शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संविधान दिवसमा हत्यारालाई समेत आममाफी !

६ आश्विन, २०७८ १७:२४ मा प्रकाशित

766 पटक पढिएको

bidhya devi bhandari

काठमाडौं – संविधान दिवसका अवसरमा सरकारले चालचलन र अनुशासन राम्रो रहेको भन्दै दैलेख कारागारबाट रिहा भएका २४ जना कैदीमध्ये हत्याको दोषी ठहर भएर जेलमा सजाय भोगिरहेकाले समेत आममाफी पाएका छन् । यति मात्र होइन, सवारी दुर्घटनामा अरुको ज्यान लिएर जेल सजाय भोगिरहेका समेतले बाँकी कैद सजाय मिनाहा भएर संविधान दिवसमा छुटेका छन् ।

कारागार कार्यालय दैलेख स्रोतका अनुसार अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाएको सेते दमाई हत्या काण्डका दोषी समेतको बाँकी कैद सजाय मिनाहा भएर संविधान दिवसमा छुटेका छन् । दिवसका अवसरमा सेते दमाई हत्या काण्डका दोषीसहित कर्तव्य ज्यान मुद्धाका ३ जना महिला र ३ जना पुरुष गरी ६ जना छुटेको जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए ।

यस्तै सवारी ज्यान मुद्धाका दोषी १ जना र ज्यान मार्ने उद्योग मुद्धामा १ जनाको बाँकी कैद मिनाहा भएको छ । जेलर खत्रीका अनुसार बहुविवाह मुद्धामा जेल सजाय काटिरहेका ६ जना महिला र १० जना पुरुषको समेत बाँकी कैद सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसरमा यस वर्ष दैलेख कारागारबाट २४ जना कैदीबन्दी छुटेको जेलर खत्रीले जानकारी दिए ।

न्यायीक निकायले तोकेको सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको, मुद्धा सकारात्मक सूचीमा भएको र चाल चलन र अनुशासन राम्रो भएको आधारमा कैद कट्टाका लागि सिफारिस गरिएको जेलर खत्रीले बताए ।

संविधान दिवसमा २४ कैदी छुटेसँगै अहिले दैलेख कारागारमा विभिन्न मुद्धामा १ सय ४६ जना पुरुष र ३३ महिला गरी १ सय ७९ जनाले सजाय काटिरहेका छन् । जेलर खत्रीका अनुसार बहुविवाह मुद्धामा कारागारमा सजाय काटिरहेकी महिलाको साथमा १ आश्रीत बालिका कारागारमा छिन् ।

के हो सेते दमाई हत्याकाण्ड ?

नौमूले गाउँपालिका–१ तोलीका (साविक तोली गाविस–२) सन्तबहादुर दमाईले सोहि गाउँकी राजकुमारी शाहीलाई अन्तरजातीय विवाह गरेको विषयलाई लिएर सन्तबहादुरका बुवा सेते दमाईको हत्या भयो । सेते दमाईको कान्छो छोरा सन्तले राजकुमारीसँग २०६८ साउन २८ गते अन्तरजातीय विवाह गरेका थिए ।

सोहि विषयलाई लिएर माइती पक्षले भदौ १३ गते खुकुरी प्रहार गरी सेतेको हत्या गरेको थियो । सेते दमाई हत्या प्रकरणमा कर्तव्यज्यान र जातीय विभेदमा ९ जनाविरुद्ध मुद्दामा दर्ता गरिएको थियो । अदालतले २०६९ जेठ ३० गते गरेको फैसलामा घटनाका बिन्दकला शाहीसहित जीवन शाही र कृष्ण खत्रीलाई २०/२० वर्ष जेल सजाय सुनाएको थियो । उनीहरु तीनैजना संविधान दिवस–२०७८ को अवसरमा छुटेको कारागार स्रोतले बतायो ।

सोहि घटनामा संलग्न दुईजना बालकलाई भने १०/१० वर्षका लागि बाल सुधार गृहमा पठाइएको थियो । उनीहरु ५० प्रतिशत कैद मिनाह पाएर यसअघि नै घर फर्किइसकेका छन् । सेते दमाई हत्या प्रकरणको घटनामा ज्यान गुमाएका सेते दमाईको परिवारले भने २०६९ मा मन्त्रिपरिषदको निर्णय अनुसार १० लाख रूपैयाँ राज्यका तर्फबाट राहतस्वरूप पाएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome