मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

अनुदानको ट्याक्टर र सोलार जसपाका नेता र कार्यकर्तालाई !

८ आश्विन, २०७८ १७:५७ मा प्रकाशित

186 पटक पढिएको

jasapa leaders and members misusing agricultural aid

काठमाडौं – प्रदेश २ सरकारले कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यका साथ किसानलाई प्रदान गर्ने भनेको ट्याक्टर र सोलार पम्पमा जसपाका नेता र कार्यकर्तालाई वितरण गरिएको पाईएको छ। प्रदेश सरकारको योजना कार्यकर्ता पोस्नको लागि ल्याइएको विपक्षी दलका नेताहरुले आरोप लगाएको समयमा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बाँडेको ट्याक्टर र सोलार पम्प अनियमित किसिमले नेता तथा कार्यकर्तालाई वितरण गरिएको खुल्न आएको हो।

मन्त्रालयले कृषि उत्थानका लागि वितरण गरेको ट्याक्टर वितरणको लाभ वास्तविक किसानहरु नभइ जसपाका नेता तथा कार्यकर्ताहरुले पाएका छन्। मन्त्रालयले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आर्थिक वर्ष २०७५/०७६ मा ५० प्रतिशत अनुदानमा वितरण गरेको ट्याक्टरमा मन्त्रीका आसेपासेदेखि नेता कार्यकर्ता सम्मले पाएका छन् ।

मन्त्री शैलेन्द्रप्रसाद साहले गृहजिल्ला सप्तरीमा २०, राज्यमन्त्री यागेन्द्र राय यादवले गृहजिल्ला रौतहटमा १८ र प्रदेशको अन्य जिल्लामा १० वटाको दरले ट्याक्टर वितरण गरेका थिए। धनुषा जिल्लामा ट्याक्टर पाउनेमा सुजनादेवी कोइरी, रामचन्द्र यादव, रामप्रकाश यादव, राधेश्याम गोइत, महेन्द्र चौधरी, ज्ञानकुमार यादव, भोगेन्द्रप्रसाद यादव, राजकुमारी देबी, किसान बहुउदेश्य कृषक समुह, मिथिला कृषि पशुपालन तथा डेरी उद्योग र दिनेश यादव रहेका छन्।

यसरी ट्याक्टर पाउने रामप्रकाश यादव जसपा नेपाल कमला नगरपालिका १ का वडा अध्यक्ष राजकुमार यादवका बुवा हुन्। उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदारसमेत हुन्। ज्ञानुकुमार यादव हाल जसपा र तत्कालीन समाजवादी पार्टीबाट धनुषाधाम नगरपालिकाको नगर प्रमुखका प्रत्यासीले समेत ट्याक्टर पाएका छन्।

त्यस्तै रामचन्द्र यादवको सिफारिस तत्कालीन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए। किसान बहुउदेश्य कृषक समुह वैद्यनाथ रायको रहेको हो। उनी जसपाको सबैला नगर अध्यक्ष हुन्।

अनुदान पाउनेमा अधिकांश व्यक्ति तत्कालीन समाजवादी पार्टी हालका जसपाका कार्यकर्ताहरु रहेका छन्। प्रदेश २ मा रहेका कुल जनसंख्याको ६९ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको छ।

सुचना अभियन्ता सरोजकुमार मिश्रले सरकारले दिने गरेको अनुदानमा कुनै पनि किसान लाभान्वित भएको अवस्था नरहेको आरोप लगाए। उनीहरु पार्टी कार्यकर्ता र नातागोतालाई लाभ दिने खालको योजना ल्याउने र वितरण गर्ने गरेका मिश्रको भनाइ छ।

तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको थियो। तर मन्त्रालयले सोलार पम्प वितरण गरे पनि त्यसमा सोलार पम्प पाउने अधिकांश व्यक्ति जनता समाजवादी पार्टीका कार्यकर्ता रहेका थिए।

मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला सप्तरीमा वितरण गरिएको थियो। सप्तरीमा सबैभन्दा बढी ४८ वटा पम्प वितरण गरिएको थियो भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै धनुषामा ४५, सर्लाहीमा ४४, सिरहामा २६, बारामा २३, पर्सामा २१ र रौतहटमा १४ वटा पम्प वितरण गरिएको थियो। १ लाख १ हजार रुपैयाँ पर्ने एउटा सोलार पम्पमा ८५ प्रतिशत रकम सरकारले अनुदान सहयोग र १५ प्रतिशत किसानले स्वयंले तिरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome