शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

आन्तरिक र राष्ट्रिय समस्यामाथि छलफल गरेर अगाडि बढ्नुपर्छ : ओली

८ आश्विन, २०७८ १८:१६ मा प्रकाशित

600 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक समस्यामा छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा उनले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने समेत बताएका छन्। ‘विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ। हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन्। त्यसमा छलफल गर्नुपर्छ।’ उनले भने, ‘आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ।’

ओलीले असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन्। बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुका साथै छलफल हुनेछ। अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताए। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठक शनिबारसम्म चल्नेछ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो। विधान महाधिवेशनका लागि एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल संयोजक रहेको संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति, रामबहादुर थापा संयोजक रहेको व्यवस्थापन समिति सदस्य बनाएको थियो। उनीहरुले केन्द्रीय कमिटी प्रतिवेदन प्रस्तुत गर्नेछन्।

एमालेको १० औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख छ। गत साउन २५ गतेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव पारित गरेको थियो। तर, मध्यमार्गी नेता एमालेमै बसेपछि उनीहरूको प्रस्तावमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो।

त्यस्तै, नवौं महाधिवेशनबाट पारित विधानमा नेतृत्वका लागि ७० वर्षे उमेर हद राखिएको थियो। जुन उमेर हद अहिले पनि कायमै रहने भएको छ। यसअनुसार केही नेता आगामी महाधिवेशनबाट बिदा हुने भएका छन्। त्यसैगरी, विधानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव रहने प्रस्ताव गरिएको छ। नवौं महाधिवेशनबाट १ सय ५९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। आगामी विधान महाधिवशेनमा २ सय २५ केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव गरिएको छ।

नेकपा माओवादी केन्द्रसँग एकतापछि संगठनात्मक अराजकता संस्थागतरुपमा भित्रिएको एमालेले निष्कर्ष निकालेको छ। स्थायी कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत गरिएको संगठनात्मक प्रतिवेदनमा माओवादीसँग एकतापछि पार्टीमा संस्थागतरुपमा गुटबन्दी र अराजकता भित्रिएको उल्लेख थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome