मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

गलकोट नगरपालिकाले सार्वजनिक गर्‍यो डिजिटल नगर प्रोफाईल

२१ श्रावण, २०७७ १७:४५ मा प्रकाशित

486 पटक पढिएको

galkot municipality goes digital

थम्मन थापा

बागलुङ – गलकोट नगरपालिकाले नगर वस्तुस्थिती विवरण तथा आवधिक विकास योजना सार्वजनिकिरण र कोरोना राहात कोषको खर्च सार्वजनिक गरेको छ । नगर भित्रको वस्तु स्थितीलाई समेटिएको नगर प्रोफाइल सार्वजनिक गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले प्रोफाइल भित्र नगरपालिकाको वस्तु स्थिती समेटिएको बताउनुभयो । उहाँले हाम्रो नगरको चिनारीको रुपमा तयार पारिएको नगर प्रोफाइल समय सापेक्ष डिजिटल प्रविधिमा रहेको समेत उल्लेख गर्नुभयो । जसका कारण नगर डिजिटल प्रोफाईल विश्वको जुनसुकै ठाँउबाट अवलोकन गर्न सकिने नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले नगरको यथार्थ वस्तु स्थिती सहितको विवरण नगरपालिकाले तयार पारेको प्रोफाइल भित्र हेर्न सकिने भन्दै विवरण तयार पार्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । नगर प्रोफाईललाई अधावधीक गर्न चालु आर्थिक बर्षमा बजेटको समेत ब्यबस्था गरिएकोले नगर प्रोफाईलकै आधारमा विकासका योजना निर्माणमा सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । गत आर्थिक वर्षको सुरुवातमा नगर प्रोफाइल तयार गर्न रोर्वट्स आइटि कन्सेप्ट्स प्रा.लि ललितपुरसँग सम्झौता भएको थियो । सोहि सम्झौता बमोजिम १६ लाख खर्च गरि नगरको डिजिटल प्रोफाइल तयार पारिएको नगर उपप्रमुख काउचाले बताउनु भयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रतिनिधि कौशिला घर्ति मगर, नेपाली काँग्रेसका गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, गलकोट नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यपक देवेन्द्र बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, पत्रकार विर बहादुर चोखालले मन्तव्य राख्नुभएको थियो । नगर प्रोफाइलको बारेमा गलकोट नगरपालिकाका आईटी ईन्जीनियर अर्जुन चालिसेले प्रष्ट पार्नुभएको थियो । सो अवसरमा नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६/७७, ०७७/७८ र ०७८/७९ को तीन वर्ष आवधिक विकास योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

आजै गलकोट नगरपालिकाले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषको आय व्यय समेत सार्वजनिक गरेको छ । नगरपालिकामा सञ्चालित विपद् व्यवस्थापन कोषबाट अहिले सम्म विभिन्न संघ संस्था व्यक्तिबाट १ करोड १५ लाख ४५ हजार २ सय ९७ रुपैया कोषमा जम्मा भएको छ । त्यस्तै नगरपालिकाले विभिन्न योजनाको बजेटबाट शिर्षकान्तर गरि ८१ लाख जम्मा गरेको जानकारी गराइएको थियो । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न क्वारेन्टाइन निर्माण, प्रिआईसोलेशन निर्माण, स्वास्थ्य सामाग्री खरिद, सवारी साधनको परिचालन, कोरोना संक्रमितलाई आईसोलेशनमा राख्दा, क्वारैनटाईनमा रहेका ३ सय २५ जना नगरवासीको लागी खाद्यान्न ब्यवस्थापन, आरडिटि तथा पिसिआर परिक्षणको ब्यबस्थापन तथा कोरोना बारे सचेतनता सन्देश तथा प्रचारप्रसार एबं अलपत्र नागरीकलाई खाजा खानाको ब्यबस्थापन जस्ता शिर्षकमा‌ रु १ करोड ३ लाख १ हजार ६ सय ४० रुपैया असार मसान्त सम्म खर्च भएको र अब नगद रु १२ लाख ४३ हजार ६ सय ५७ कोषमा बाँकी रहेको जानकारी गराईएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome