आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

मनास्लु हिमाल आरोहण गर्ने कतारी राजकुमारीको तयारी

११ आश्विन, २०७८ २०:१५ मा प्रकाशित

355 पटक पढिएको

Sheikha Asma Al Thani

काठमाडौं – कतारी राजकुमारी शेखा आस्मा अल थानीले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने भएकी छिन्। राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो मनास्लु सोमबार आरोहण गर्ने तयारीमा रहेकी उनलाई आरोहण गराउने कम्पनी इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ। उनी आरोहणका लागि अहिले मनास्लुको तेस्रो शिविरमा अभ्यास गरिरहेकी छिन्।

‘आस्मा अल थानी अहिले क्याम्प ३ मा हुनुहुन्छ। उहाँले सोमबार बिहान आरोहण गर्दै हुनुहुन्छ’, इलाइट हिमालय एड्भेञ्चरका कुशल बुढाथोकीले भने, ‘उहाँ लगायतका टिमको गाइडका लागि कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पा खटिनु भएको छ।’ टिममा ३२ जना आरोही रहेको उनले बताए।

राजकुमारी अल थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि गत वसन्त ऋतुमा नेपाल आएकी थिइन्। मौसम प्रतिकूल भएपछि अहिले मनास्लु आरोहणको क्रममा रहेकी हुन्। यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन्।

आस्माले कतारमा महिला सशक्तीकरणलाई अगाडि ल्याउन र यस क्षेत्रका महिलाले नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिलाउन हिमाल आरोहणमा रहेको जनाएकी छिन्।

यसअघि बेसक्याम्पदेखि मनास्लुको चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी गरेका छन्। शुक्रबार बिहान सेभेन समिट ट्रेकका आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमा टासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासी शेर्पाले बाटो निर्माण सम्पन्न आधार शिविर मेनेजर टासी लाक्पा शेर्पाले जनाए।

यो महिना मनास्लु आरोहणका लागि २० वटा विभिन्न देशका १७१ जना विदेशी आरोहीले अनुमति लिएका छन्। नेपालकै सबैभन्दा धेरै आरोहीले यो हिमाल आरोहण गर्न लागेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ। आरोही सहित गाइड र अन्य सहयोग गरी मनास्लु हिमालमा यो महिना करिव पाँचसयभन्दा बढी चुचुरोमा पुग्ने शेर्पाले जानकारी दिए।

मनास्लु हिमालसँगै यो महिना पाँच वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जनाले अनुमति लिएका छन्। उनीहरुबाट विभागले एक करोड ८० लाख ९९ हजार रुपैयाँ सलामी दस्तुर लिएको छ।

त्यस्तै मरियाङ हिमाल आरोहणका लागि एक टिमका आठ जना, धौलागिरी हिमाल आरोहणका लागि चार टिमका ४० जनाले अनुमति लिएका छन्। कञ्चनजङ्गा हिमाल आरोहणका लागि एक टिमका तीन जना, कुम्भकर्ण हिमाल आरोहणका लागि एक टिमका पाँचजना र पुथा हिमचुली आरोहणका लागि एक टिमका तीनजना गरी जम्मा २३० जना आरोहीले अनुमति लिएको विभागको तथ्याङ्क छ।

विभागले हिमाल आरोहण शुल्कबाट दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ।

Sheikha Asma Al Thani in nepal

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome