मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

नेपालमा एकै दिन कोरोनाले ६ जनाको मृत्यु

२२ श्रावण, २०७७ ०९:२६ मा प्रकाशित

455 पटक पढिएको

corona patient dies

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुईदुई, काठमाडौंमा एक र सप्तरीमा एक जना गरेर बुधबार ६ जनाको मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको आधिकारी पुष्टि नगरेपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन्।

पर्सामा दुईको मृत्यु

पर्सामा कोरोनाले बुधबार दुई जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका-८ की १८ वर्षीया युवतीमासमेत गएराति कोरोना पुष्टि भएको छ।

बुधबार दुई जनाको कोरोनाकै कारण मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। साउनमा मात्रै १३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

मोरङमा दुईको मृत्यु

मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एक विराटनगर र एक रंगेलीका हुन्। कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ ः १० बजे मृत्यु भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार उनको स्वाबको पीसीआर रिपोर्ट भने दिउँसो पौने चार बजेमात्र आएको थियो।

ज्वरोका साथै जण्डिसको समस्या देखिएपछि ती पुरुषलाई उपचारका लागि मंगलबार राति साढे १० बजे अस्पताल ल्याइएको थियो।

त्यसैगरी मोरङकै रंगेली नगरपालिका-८ का ४५ वर्षीय अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको हो।

उनको स्वाबको पीसीआर रिपोर्ट दिउँसो बुधबार दिउँसो साढे ३ बजे आएको थियो।

काठमाडौंमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट बुधबार काठमाडौंमा एक जनाको मृत्यु भएको छ।

साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा-६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार ति महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएकी हुन्। मनमोहन अस्पतालमा उपचार गराइरहेकी ति महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो।

निमोनियाको उपचार गराइरहेकी महिलामा स्क्रब टाइफस समेत देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।

सप्तरीमा एक जनाको मृत्यु

यस्तै सप्तरीमा मृत्यु भएका तीन जनामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । करिब डेढ महिनाअघि मलेसियाबाट फर्किएका उनी होम क्वारेन्टिनमा थिए । मंगलबार साँझ ज्वरो आउनुका साथै श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।

थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । तर उनको बाटोमै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome