मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु

१३ आश्विन, २०७८ १५:५३ मा प्रकाशित

596 पटक पढिएको

national sports council nepal

काठमाडौं – यसै वर्ष गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको जनाएको छ। पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रि लगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको परिषद्का सदस्य राजेश गुरुङले बताए।

राखेप सदस्य गुरुङ र गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष भोजबहादुर गुरुङ सहितको टोलीले मंगलबार म्याग्दीका खेलमैदान र कबर्डहलहरुको निरीक्षण, जिल्ला खेलकुद बिकास समिति र खेल संघका पदाधीकारीहरुसँग छलफल गरेको छ।

कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्री, खेल संघका पदाधिकारी र प्राविधिक टोली सहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाव्यता अध्ययन गरिसकेको छ।

टोलीले बेनीको कालीपुलमा रहेको बास्केटबल, खुल्लामञ्च र चुत्रेनीको खेलमैदानको निरीक्षण गरेको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण २०७७ फागुन २१ गतेदेखि सञ्चालन गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको थियो।

‘२०७८ फागुन ६ देखि १६ सम्म प्रतियोगिता आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको छ’, सदस्य गुरुङले भने, ‘कोरोना संक्रमणको दर घटेको, पूर्वाधार तयार भएको, कोरोना विरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको ब्यवस्था गरेकाले फागुन महिनासम्म प्रतियोगिता गर्न सकिन्छ।’

खेलकुद मन्त्री नियुक्त हुनेबित्तिकै समय घोषणा गरेर पालिका, जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीहरुलाई सदस्य गुरुङले आग्रह गरे।

राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल आयोजना गर्ने योजना बनाएको छ । यद्यपि अधिकांश खेलहरू पोखरा महानगरभित्रै हुनेछन् । पौडीको पूर्वाधार तयार भएको र सुटिङ खेलका लागि पनि पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताए।

मुख्य खेलस्थलका रूपमा रहने पोखरा रंगशाला निर्माण सकिएको छ । एक हजार जना दर्शक क्षमताको रंगशालाको चारैतर्फ प्यारापिट जडान भइसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome