मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवले दिए राजीनामा

१३ आश्विन, २०७८ २०:३७ मा प्रकाशित

547 पटक पढिएको

can officials resign

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको बताउँदै त्यसमा सफल भएकाले पुरानो योजना अनुसार नै राजीनामा दिएको बताएका छन्। ‘अहिलेको नेतृत्वलाई स्थापित गराउन क्यानमा बसेका थियौं। क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बन फुकुवा भइसकेको र बजेट पनि नियमित रुपमा आइरहेकाले राजीनामा दिएका हौं’, सचिव प्याकुरेलले भने, ‘नयाँ पुस्तालाई नेतृत्व सुम्पिन पहिलेकै योजना अनुसार राजीनामा गरेको हुँ।’

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ असोज ११ गते भएको निर्वाचनबाट प्याकुरेल सचिव र श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। प्याकुरेलले विनोदकुमार मैनाली र श्रेष्ठ मिङ्मा शेर्पालाई पराजित गर्दै नेतृत्वमा आएका थिए।

सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो। क्यानमा नयाँ नेतृत्व आएपछि २०७६ असोज २७ गते आईसीसीले क्यानमाथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको थियो।

नेपाल क्रिकेट संघका सदस्य प्रशान्त मल्लले दुवै जना क्रिकेटका लागि चाहिने व्यक्ति भएको बताउँदै पूर्व योजना अनुरुप नै राजीनामा दिएको बताए। ‘उहाँहरु चुनावमा भाग नै लिन चाहनुहुन्न थियो। सबैको करबलले गर्दा नेतृत्वमा आउन तयार हुनुभएको थियो’, केन्द्रीय सदस्य मल्लले भने, ‘क्यान वैधानिक रुपमा अगाडि बढेपछि नयाँ पिंढीका लागि छोडिदिनु भएको हो।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome