मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

पोखरामा व्यवसायिक प्याराग्लाइडिङ पुन सुरु हुँदै

१५ आश्विन, २०७८ १६:१७ मा प्रकाशित

520 पटक पढिएको

paragliding in pokhara

काठमाडौं – पोखरामा दोस्रो लहरको कोरोना संक्रमणसँगै बन्द भएको व्यवसायिक प्याराग्लाइडिङ उडान ५ महिनापछि शनिबारदेखि पुन सुरु हुने भएको छ। पहिलो लकडाउनका क्रममा पनि ६ महिनापछि व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको थियो।

लामो समय थन्किएर बसेका हार्नेस, प्याराका सामाग्रीको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका प्राविधिकहरुले एक हप्ता चेकजाँचपछि शुक्रबारदेखि टेष्ट फ्लाइट सुरु हुने र शनिबारदेखि व्यवसायिक उडान सुरु हुने नेपाल हवाइ खेलकुद संस्था (ना) पोखराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। सोलो (एकल) उडान भने असोज ५ गतेदेखि सुरु भएको थियो।

कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण ३५० प्यारापाइलोट लामो समयदेखि बेरोजगार बनेका थिए। पोखरामा ६० वटा प्याराग्लाइडिङका कम्पनी छन्। लाइसेन्स नवीकरण भइसकेकाबाट उडान सुरु हुने र लाइसेन्स नवीकरण नभएकाले नवीकरण गरेपछि उडान गर्ने गरी शनिबारदेखि व्यवसायिक उडान सुरु हुन लागेको अध्यक्ष भण्डारीले बताए।

गत वर्ष चैत ११ देखि बन्द रहेको व्यवसायिक प्याराग्लाइडि उडान असोज १५ गतेदेखि सुरु भएको थियो। गत वर्ष लकडाउन खुकुलो भएपछि दशैं र तिहारका बिचमा ३५० प्यारापाइलोट निकै व्यस्त हुँदा दैनिक १ हजारभन्दा बढी उडान भएको अध्यक्ष भण्डारीले सुनाए। पोखरामा असोज १ गतेदेखि लकडाउन पूर्ण रुपमा हटेको छ। रात्रिकालीन व्यवसाय क्लब, डान्सबार, दोहोरी साँझ पनि राति साढे १ बजेसम्म सञ्चालन हुन थालेका छन्। यसैले पनि पर्यटन व्यवसाय चलयमान हुने विश्वास व्यवसायीमा छ।

सराङ्कोटबाट उडेर पोखराको आकाशमा कावा खाँदै अन्नपूर्ण, धौलागिरी, निलगीरी लगायतका हिमालय र पोखराको दृश्यवालोकन गर्दै फेवाताल किनारमा अवतरणकालागि प्याराग्लाइडिङ गर्न विश्वकै पर्यटक आउने गर्दथे। प्याराग्लाइडिङका लागि विश्वमै उत्कृष्ट सहर मध्येमा पोखरा पर्दछ। कोरोना संक्रमणका कारण विश्व पर्यटन नै थला परेर बिस्तारै खुला हुन थालेपछि विदेशी पर्यटकको पनि आगमन बढ्ने विश्वास पर्यटन व्यवसायीले गरेका छन्।

सन् २००१ देखि पोखरामा सुरु भएको व्यवसायिक प्याराग्लाइडिङ व्यवसाय पोखरामा निर्माणको अन्ति चरणमा पुग्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संञ्चालनसँगै प्याराग्लाइडिङको भविश्व के हुने भन्ने अझै अन्यौलमा छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८४ प्रतिशत सम्पन्न भइसकेको छ। अंग्रेजी नयाँ वर्ष सन् २०२२ देखि नयाँ विमानस्थलबाट आन्तरिक उडान सुरु हुने र नयाँ वर्ष २०७९ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान हुने आयोजनाले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome