शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

अविरल वर्षाका कारण मदन भण्डारी लोकमार्ग अवरुद्ध

२ कार्तिक, २०७८ १७:१६ मा प्रकाशित

271 पटक पढिएको

flood in highway

काठमाडौं – लगातारको वर्षाले मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड अवरुद्ध भएको छ। आइतबारदेखि परेको पानी नरोकिँदा लोकमार्गमा पर्ने खोलामा पानीको वहाव बढेपछि सडक अवरुद्ध भएको हो।

उदयपुर खण्डअन्तर्गतका १२ खोलामा पुल निर्माण भइ नसकेकोले खोलाकै कारण यातायातका साधन सञ्चालन हुन नसकेको हो। खोलामा पानीको वहाव बढेसँगै मंगलबार बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन ठप्प रहेका छन्।

चौदण्डिगढी नगरपालिकाको लामाखोला, खैराह झोडा, ज्यामिरे, उदयपुरगढीको तावा खोलामा पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जसका कारण यात्रुहरु वारपार यात्रा गर्न सकिरहेका छैनन्।

अधिकांश सवारीसाधन बीच बाटोमा नै अलपत्र परेका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत गाइघाटबाट बेल्टार हुँदै पूर्व जाने सवारीसाधनहरु खैराह झोडाको खोला र काठमाडौंतर्फका उदयपुरगढीको तावा खोलामा आएको बाढीको कारण यात्रु अलपत्र छन्।

केही गाइघाट फर्किए पनि अधिकांश पानी रोकिने आशमा बीच बाटोमा नै बसिरहेका प्रहरीले जनाएको छ। ज्यामिरे खोलादेखि पश्चिम र खैराह झोडाको खोलादेखि पूर्वतिर बीच भागमा फसेका यात्रु भने केही स्थानीयको घरमा आश्रय लिइरहेको बताइएको छ।

पूर्व–पश्चिम मदनभण्डारी लोकमार्गको काम द्रुत गतिमा भइरहेको भए पनि अधिकांश ठाउँमा अझै सडक र पक्की पुल बन्न सकेको छैन। जग्गा विवाद र विभिन्न प्राविधिक कारण कतिपय ठाउँमा सडकले पूर्णता पाउन नसक्दा वर्षायाममा यात्रुले असहजता बेहोर्नुपरेको छ।

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको पूर्वी क्षेत्र वसाहा–भिमान खण्डमा ४३ वटा पुलमध्ये १२ वटा पक्की पुल निर्माण हुन बाँकी छन्। भित्री मधेसका जिल्लालाई सहजरुपमा यातायाताको पहुँच पुर्याउने लक्ष्यसहित पूर्व झापाको शान्ति नगरदेखि पश्चिम डडेलधुरासम्म जोड्ने गरी सरकारले यो सडक सुरुवात गरेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome