शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीपहिरोका कारण देशभर ५८ को मृत्यु, २६ बेपत्ता

३ कार्तिक, २०७८ १९:२२ मा प्रकाशित

658 पटक पढिएको

flood in seti

काठमाडौं – अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी ५८ जनाको मृत्यु भएको हो। यस्तै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी १५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

नेपाल प्रहरीको समाचार बुलेटिन अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी २६ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन्। ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै, १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ। सो अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्न प्रहरीले अनुरोध गरेको छ। पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा भइरहेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome