शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सर्वोच्चमा देखा परेको अराजकता दुर्भाग्यपूर्ण : ज्ञवाली

९ कार्तिक, २०७८ १६:५६ मा प्रकाशित

250 पटक पढिएको

pradeep kumar gyawali

काठमाडौं – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। उनले न्यायालयमा समस्या विगतमा भएपनि विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको आदेशपछि झनै देखा परेको दाबी गरेका छन्। फेसबुकमार्फत उनले भनेका छन्, ‘सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्‍यो।’

एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले सत्ता गठबन्धनलाई संकेत गर्दै आजको विकृति अपवित्र गठबन्धनको परिणाम भएको आरोप लगाए। उनले निश्चित राजनीतिक नेताको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने,सट्टामा नेताले न्यायाधीशमध्ये कसैलाई मन्त्री त, कसैलाई तक्मा उपहार दिने अपवित्र गठबन्धनको परिणाम भएको स्पष्ट पारे। उनले एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियान विकृतिलाई अन्त्य गर्न नभइ,आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै रहेको दाबी गरे।

‘युज एण्ड थ्रो’अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउने उनको भनाई छ। ‘निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने- यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’ पूर्व मन्त्री समेत रहेका ज्ञवालीले भनेका छन्, ‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘ युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसैगरी शिकार बनाउनेछ।’

न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको ‘डिल’मा पुगेका छन्। उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन्।

सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिस्कार गरेका छन्। उनीहरू प्रधानन्यायाधीशले तोकेको इजलासमा पनि बसेनन्। सर्वोच्चको कामकारबाही नै ठप्प भयो। न्यायिक इतिहासमा यो नौलो घटना हो। अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ।

जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ। त्यसमा चार पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ। एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक ‘डिल’गरे। तर, उनको संकट झन् गहिरिँदो छ। सर्वोच्च अदालतकै न्यायाधीशदेखि पूर्वप्रधानन्यायाधीशसम्मले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दा पनि राजनीतिक दलहरू भने मौन छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome