शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

कोशी अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट पोजिटिभ

२३ श्रावण, २०७७ १६:२२ मा प्रकाशित

277 पटक पढिएको

corona positive

विराटनगर – कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका एक पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । ५८ वर्षीय मृतक मारवाडी समुदायका हुन् । उनको उपचारका लागि ल्याउने वित्तिकै अस्पतालमा शुक्रबार बिहान ९:१५ बजे मृत्यु भएको थियो । कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो ।

मृतकको पीसीआर परीक्षण रिपोर्ट दिउँसो ३ बजे पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए । उनकाअनुसार मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । शव अहिले अस्पतालकै आइसोलेसनमा राखिएको व्यवस्थापनका लागि नेपाली सेनाको ‘बडी’ डिस्पोज टोलीलाई जिम्मा लगाइने डा. दासको भनाइ छ ।

‘मृतकलाई एक सातादेखि ज्वरो र खोकीको समस्या रहेछ, डा. उनले भने, ‘परिवारका सदस्यले भने निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेको पाइएको छ ।’ स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि भने उक्त स्वास्थ्य संस्थाले बिहान कोशीमा रेफर गरिदिएको उनको भनाइ छ ।

कोशी अस्पताल ल्याउनुअघि ती पुरुषको उपचार गर्ने निजी स्वास्थ्य संस्थाको पहिचान भइनसकेका कारण पत्ता लगाउने काम भइरहेको जानकारी उनले दिए । मृतकमा लामो समयदेखि उच्च रक्तचापको पनि समस्या रहेको पाइएको डा. दासको भनाइ छ ।

योसँगै प्रदेश १ मा कोरोना कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । मृतक सबै मोरङका हुन् । ती मध्ये पनि तीन जना प्रदेश राजधानी विराटनगरका बासिन्दा हुन् ।

यसअघि विराटनगर महानगरपालिका-९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १:१० बजे कोशी अस्पतालमै मृत्यु भयो । आइसोलेसनमा भर्ना गरेर उपचाररत उनको मृत्युपछि दिउँसो ३ : ४५ रिपोर्ट पोजेटिभ आयो ।

विराटनगर-५ घर भएका ७७ वर्षीय वृद्धको गत सोमबार कोरोना संक्रमणकै कारण कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भयो । मोरङको रंगेली नगरपालिका-८ दर्वेसाका ४५ वर्षीय पुरुषको पनि उपचारका लागि ल्याइपुर्‍याउन साथ बुधबार कोशीमै मृत्यु भएको थियो ।

अघिल्लो बुधबार साउन १४ गते मोरङ सुनवर्षी-८ का एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेपछि मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome