बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बीपी प्रतिष्ठानका तीन पदाधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सिफारिस

२६ कार्तिक, २०७८ १६:३५ मा प्रकाशित

759 पटक पढिएको

report on bpkmihss irregularities

काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीनजना पदाधिकारीलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष छानविन समितिले सिफारिस गरेको छ । बीपीका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानविन समितिले आर्थिक अनियमिततामा मुछिएका प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र निर्देशकलाई बर्खास्त गर्न शुक्रबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको हो।

बीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले प्रतिष्ठानमा औषधि, उपकरण र भौतिक संरचना निर्माणमा करौडौं रुपैयाँ आर्थिक अनियमितिता गरेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछी सरकारले छानविन समिति गठन गरेको थियो।

प्रतिष्ठानका पदाधिकारी भ्रष्टाचारमा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले पदाधिकारी बर्खास्तीको माग गर्दै आन्दोलन थालेका थिए । आन्दोलनकारीहरुको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा धरानका मेयर तिलक राई र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सदस्य रहेको छानविन समिति गठन गरेका थिए ।

छानविन समितिले प्रतिष्ठानमा आएर स्थालगत छानविन गरी शुक्रबार प्रतिवेदन बुझाइएको स्वास्थ्यमन्त्री खतिवडाले बताएका छन् । छानविन समितिले गरेको अनुसन्धान र पदाधिकारीसँग लिएको बयानका आधार मानेर प्रतिवेदन तयार पारिएको मन्त्री खतिवडाले बताएका छन् ।

वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहले प्रतिष्ठान संचालन गर्न नसकेको र पदीय मर्यादा विपरित आर्थिक अनियमितता गरेको पाइएकाले कारबाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको बताए ।

उनले राजीनामा दिएका प्रतिष्ठानका निवर्तमान रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले समेत पदीय मर्यादा विपरित प्रतिष्ठानमा आवश्यक सामग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएकाले उनलाई पनि कारबाही गर्न सिफारिस गरेको बताए ।

मन्त्री खतिवडाले प्रतिष्ठानको सबैखाले बेथिति अन्त्य गरी यहाँका अयोग्य पदाधिकारीलाई कडा कारबाही गर्ने र प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान संचालन गर्न नसकेको र पदीय मर्यादा विपरित काम गरेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको छानविन समितिले समेत उनीहरुलाई तत्काल कारबाही गर्न यस अगाडि नै सिफारिस गरेको थियो ।

सरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ। बीपी प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानका विवादित पदाधिकारीलाई बर्खास्त गर्न छानविन समितिले प्रधानमन्त्रीलाई सिफारिस तत्काल कार्यान्यन गर्न र योग्य र सक्षम व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome