बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

वंशजको आधारमा नागरिकता दिन सन्थाल समुदायको अनुरोध

२६ कार्तिक, २०७८ १६:५९ मा प्रकाशित

660 पटक पढिएको

santhal community

काठमाडौं – सन्थाल समुदायले वंशजको आधारमा आफुहरुलाई नागरिकता दिन मोरङका प्रमुख जिल्ला अधिकारीसमक्ष अनुरोध गरेका छन् । अल्पसंख्यक एवं लोपोन्मुख जातिभित्र पर्ने सन्थालको समस्या बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसी बिहीबार कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारी पुगेका थिए । सुरक्षा प्रमुखको टोली गाउँ आउँदा बाजागाजासहित नाचगान गरेर सन्थाल समुदायकाले खुसीयाली मनाएका हुन् ।

अति नै पिछाडिएको र चेतनाका हिसाबले पनि कमजोर मानिएको यो समुदायले भोगिरहेका समस्या, पीडा र राज्यबाट पाइरहेका सेवासुविधादेखि लिएर विविध विषयमा बुझ्नलाई टोली गाउँ पुगेको हो । अति सिमान्तकृत सन्थान समुदायका बारेमा विस्तृत जानकारी लिएर टोली बिहीबारसाँझ विराटनगर फर्किएको छ । सन्थाल अगुवाहरुले सुरक्षा प्रमुखको टोली गाउँमै आएर पहिलो पटक स्थानीय स्तरको दुःख र पीडा बुझ्ने काम गरेको बताएका छन् । ‘अहिलेसम्म जिल्ला प्रमुखहरु गाउँमा आएका थिएनन्,’ स्थानीय अगुवा बुद्धराई हस्दाले भने, ‘पहिलो पटक गाउँमै आएपछि प्रत्यक्ष रूपमा आफ्ना कुरा राख्ने र भलाकुसारी गर्ने अवसर मिल्दा हामीलाई राहत महसुस भएको छ ।’

प्रजिअ दाहाल नेतृत्वको टोलीको स्वागतमा जातीय पोसाकमा सजिएका सन्थाल युवती र महिलाले परम्परागत नृत्य प्रस्तुत गरे । उनीहरुले सुरक्षा प्रमुखहरुलाई सन्थालको जातीय पोसाकसमेत लगादिएका थिए । आफ्ना गुनासा र समस्या सुनाउन सुरक्षा प्रमुखहरुलाई गाउँमा बोलाउँदै नेपाल सन्थाल आदिवासी उत्थान संघ मोरङले होक्लाबारी माध्यमिक विद्यालयमा ‘सन्थाल समुदायको चित्कार’ विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममार्फत वर्षौदेखि भोगिरहेका विभिन्न समस्या एवं गुनासा सन्थाल समुदायका अगुवाहरुले राख्दा टोलीका सदस्य भावकु बनेका थिए । नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र किस्कुले सन्थाल समुदाय वर्षौदेखि शोषित, पीडित र राज्यबाटै अपहेलित भएर बसिरहनु परेको गुनासो गरे । उनका अनुसार राज्यले पनि वास्ता नगर्दा र सबै कुराबाट पछाडि पारिँदा सन्थाल समुदायको अस्तित्व नै संकटमा परिरहेको छ । ‘सन्थाल समुदायको उत्थानका लागि राज्यले वास्ता गरेन । नागरिकता नपाउने लगायतका विभिन्न समस्या सन्थालहरुले भोगिरहेका छन्,’ किस्कुले भने, ‘पहिलो पटक गाउँमै आएको प्रशासकको टोलीलाई सबै समस्या राख्न पाउँदा सिंगो सन्थाल समुदाय हर्षित छ । अब भने सबै कुराबाट पिछडिएको सन्थालका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।’

आदिवासी जनजाति सन्थाललाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग उनले गरेका छन् । उनका अनुसार राज्यबाट ठूलो विभेद भएपछि सन्थाल समुदाय असह्य पीडा सहेर बसिरहेको छ । ‘आदिवासी सन्थाललाई जन्मशिद्ध नागरिकता दिइएको छ । जन्मसिद्ध लिएकाका सन्तानले अहिलेसम्म नागरिकता पाउन सकिरहेका छैनन्,’ उनी भन्छन्, ‘जसका कारण वृद्धिविकास, पढाईदेखि लिएर रोजगारीसम्मलाई असर गरिरहँदा सन्थाल युवा युवतीको भविष्य अन्धार बनिरहेको छ । सन्थाललाई मूलधारमा ल्याउनका लागि वंशजको आधारमा नागरिकता दिने वातावरण बन्नुपर्छ ।’

संघका केन्द्रीय अध्यक्ष लुखीराम हस्दाले सन्थाल समुदायले सँधैभरि गुनासो मात्रै बोकेर हिँड्नु परिरहेको बताए । ‘भूमिपुत्रका रूपमा आफूलाई स्थापित गरेको समुदाय अहिले राज्यको बेवास्थाको सिकास बनिरहेको छ । यो समुदाय नै संकटमा परिसक्यो,’ उनले भने ,‘तर पनि वंशजका आधारमा नागरिकता पाउनसक्ने अवस्था बनिरहेको छैन । यतिसम्म अपहेलित हुँदा पनि सन्थालको संरक्षणमा ध्यान पुगेन ।’ जग्गाको धनीपूर्जा हातमा हुँदा पनि सन्थाल समुदायकाले वंशजको नागरिकता पाउन नसकेको भन्दै दुखेसो हस्दाले पोखेका छन् । उनका अनुसार सन्थाल समुदाय आर्थिक, सामाजिक र चेतनाका हिसाबले निक्कै पछि परिरहेको छ ।

सन्थाल समुदायको समस्याको सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउँदै प्रजिअ दाहालले यो समुदायमाथि कुनै पनि विभेद हुन नदिने बताए । सन्थालका समस्याको सम्बोधन गरेर निकास दिने विषयमा आफू सकारात्मक रहेको उनको भनाइ छ । ‘कानुन पूर्ण नहुँदा नागरिकताका सवालमा मुलुकभर समस्या छ,’ उनले भने, ‘कानुनी अड्चन फुकेपछि नागरिकताको समस्या समाधान भएर जान्छ ।’ चेतनाका हिसाबले समेत पिछडिएको सन्थाल समुदायले राखेका समस्या र मागलाई लिखित रूपमा गृह मन्त्रालयमा पठाइने दाहालको भनाइ छ । प्रजिअ दाहालले प्रतिनिधिमूलक समस्या समाधानका लागि भने आफैले पहल र सन्थालको उत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome