२४ श्रावण, २०७७ ०७:२८ मा प्रकाशित
1319 पटक पढिएको
काठमाडौं – बढ्दो कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द आइतबारदेखि लागू हुने गरी १५ दिनका लागि स्थगित गरेको छ।
काठमाडौँ , ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच आज बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै विभिन्न सेवा प्रवाहमा रोक लगाइएको बैठकले जनाएको छ । संक्रमणले विकराल रुप लिदैँ गएपछि आइतबारदेखि उपत्यकामा सटडाउन गरिने भएको छ ।
बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता, पत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुने जनाइएको छ ।
यस्तै शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय भएको छ ।
शुक्रबार नै बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णय समेत गरेको छ ।यस्तै, काठमाडौँका प्रमुख व्यापारीक केन्द्र असन, महाबौद्ध, न्यूरोड क्षेत्र भने आज मध्यरातदेखि नै सिल गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ । जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।
काठमाडौं, शुक्रबार बसेको सीसीएमसीका तीनै जिल्लाका कमिटीहरु काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने भएका छन् ।काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन (सिडियो) कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने छ । तत्काल लकडाउन(बन्दाबन्दी) नगरिए पनि उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ भने गरिने छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार, ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ ।’ त्यसअनुसार टेकु, महाबौद्ध क्षेत्र सिल गरिने भएको छ ।
सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए वा नभएको जाँच गरिने छ भने पालना नगरेको पाइएमा बन्द गरिने छ ।उपत्यकाका तीन वटै जिल्लामा रहेका क्वारेन्टिनस्थलहरुलाई आइसोलेसन सेन्टर बनाउने प्रस्ताव गृह मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा पठाउने निर्णय पनि भएको छ ।उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाइएको छ ।उपत्यकामा संक्रमण बढ्दै गएमा स्थानीय प्रशासनले निषेधाज्ञासम्म लगाउन सक्ने गरी तयारी गरिएको जनाइएको छ ।