बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सबै संक्रमित निको भएपछि म्याग्दी कोरोनामुक्त

२४ श्रावण, २०७७ १५:४६ मा प्रकाशित

274 पटक पढिएको

corona free

बेनी : म्याग्दीमा कोरोना (भाइरस)का सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। आइसोलेसनमा रहेका सबै संक्रमित निको भएर घर गएपछि तत्काललाई कोरोना संक्रमणमुक्त भए पनि जोखिम भने कायमै छ।

बेनीको खुल्ला मञ्चमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा रहेका ६ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएर शनिबार घर गएका छन्। स्थानीय तहको सहयोगमा स्थापना गरेर बेनी अस्पतालले सञ्चालन गरेको २० बेड क्षमताको आइसोलेसन खाली भएको छ।

जिल्लाबाट हालसम्म ९सय ३२ वटा स्वाब नमुना संकलन गरेर पोखरा पठाइएकोमा १ सय ३८ को नतिजा आउन बाँकी छ। परीक्षणका लागि पठाइएको नमुनाको पोजिटिभ रिपोर्ट नआउँदासम्मका लागि म्याग्दी कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए।

‘सबै निको भएर घर गएपछि आइसोलेसन खाली भयो’, उनले भने, ‘नयाँ संक्रमित नथपिंदासम्मको लागि जिल्ला कोरोना फ्रि भएको छ।’ ४७ जना कोरोना संक्रमित भेटिएका थिए। यसअघि ५ जना महिलासहित ४१ जनाले कोरोना जितेका थिए। गत जेठ दोस्रो हप्ता पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए।

समुदाय स्तरमा कोरोनाको अवस्था पहिचान गर्न शुक्रबार बेनीमा १ सय ३ ब्यापारी, कर्मचारी, सुरक्षाकर्मी, चालक र सञ्चारकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ। आइसोलेसनमा भर्ना भएका संक्रमितलाई कोरोनाको लक्ष्यण नदेखिएको बेनी अस्पतालका चिकित्सक मनोज घिमिरेले बताए।

‘आइसोलेसनमा आएका कसैलाई पनि कोरोनाको लक्षण देखिएन’, उनले भने, ‘आइसोलेसन कक्षलाई सिसिटिभी क्यामेराले निगरानी गर्ने ब्यवस्था मिलाएका छौं। कुनै समस्या भएमा पीपीई लगाएर भित्र गइ परामर्श र औषधी दिने ब्यवस्था छ।’

संक्रमित सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन्। बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ५४ र माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टइमा १० जना विदेशबाट आएका व्यक्ति छन्। न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टइन खाली गरिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परामर्श अनुसार खानपान, सरसफाई, सतर्कता र आत्मबललाई बलियो बनाएर कोरोना जितेको संक्रमण निको भएर घर गएकाहरुले प्रतिक्रिया दिएका छन्। समाजको सम्मानित व्यवहार तथा सरकारले स्वदेशमै रोजगारको ब्यवस्था मिलाएर विदेशिन नपरोस् भन्ने अपेक्षा गरेको छन्। गाउँमै खेतिकिसानी, पशुपालन र उद्यम गर्ने योजना बनाएको सुनाए।

कोरोनाको जोखिम र लकडाउनका कारण रोजगारी गुमेका ५ सय ५३ जना पुरुष र ३२ जना महिला हालसम्म विदेशबाट म्याग्दी फर्किएका कोभिड–१९ जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए। भारतबाट २ सय २८, कुबेतबाट ९८, दुवइबाट ८८, साउदीबाट ६०, बहराइनबाट ३१, मलेसियाबाट २३, कतारबाट ३०, ओमानबाट ३, अमेरिकाबाट ६, जापानबाट ८, मल्दिभ्सबाट २, दक्षिण कोरियाबाट १ जना आएका छन्।

विदेशबाट आउनेमा बेनी नगरपालिकाका १ सय ५१, मालिका गाउँपालिकाका १ सय ३२, मंगला गाउँपालिकाका १ सय १२, रघुगंगा गाउँपालिकाका ७९, अन्नपूर्ण गाउँपालिकाका ६३ र धवलागिरी गाउँपालिकाका ४८ जना छन्। कोरोनाको जोखिम कायमै रहेकाले विदेश र जोखिमयुक्त ठाउँबाट आएकालाई क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरी घर पठाउने कार्यलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome