शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

फरक समूहको रगत चढाउँदा सुत्केरी मृत्यु : राजनीतिक दबाबमा पाँच लाख क्षतिपूर्तिमा शव उठाउने सहमति

२५ श्रावण, २०७७ ०७:४२ मा प्रकाशित

552 पटक पढिएको

ram janaki hospital

जनकपुरधाम – जनकपुरको रामजानकी हस्पिटल र रेडक्रसको लापरवाहीले मृत्यु भएकी एक महिलाको शव उठाउन पाँच लाखमा सहमति भएको छ।

महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया सुत्केरीलाई फरक समूहको रगत चढाउँदा ज्यान गएको घटनामा राजनीतिक दबाबमा पाँच लाखमा शव उठाउने सहमति जुटेको हो।

अस्पतालले पाँच लाख रुपैयाँ दिने शर्तमा अस्पतालमाथि कुनै प्रकारको कारबाही नगर्ने दुबै पक्ष सहमतिपछि शव उठाइएको हो। गत बिहीबार शल्यक्रिया गरी बच्चा जन्माएकी ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगादेवी महतोको मृत्यु भएको थियो।

मृतकका श्रीमान राजकिशोर महतोले अस्पताल र रेडक्रसको चरम लापरबाहीले श्रीमतीको मृत्यु भएकोमा क्षतिपूर्ति सहित कारबाहीको माग गर्दै शव नउठाउने अडान लिएका थिए। शुक्रबार राजनीतिक दबाब र पाँच लाख रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा नचलाउने आन्तरिक सहमति पछि शव उठाएको मृतक महिलाका भाइ त्रिभुवन महतोले जानकारी दिए ।

फरक रगत चढाउँदा जिल्ला प्रहरी कार्यालय धनुषा सोधपुछका लागि पक्राउ गरेको दुई चिकित्सकलाई रिहा गरेका छन्। जमानतमा दुबै जना डाक्टरलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मगेन्द्र विष्टले बताए।

उनले पिडित परिवारबाट कुनै जाहेरी नआएको तथा अस्पताल प्रशासन र पीडितको सहमति बारे जानकारी नरहेको बताए। ‘विभिन्न पक्षबाट घटनालाई कमजोर बनाइयो, अब हामीलाई कारबाही गर्न आधार पोष्टमार्ट रिपोर्टले दिन्छ, हामी त्यसको पर्खाईमा छौं’, डीएसपी विष्टले भने, ‘अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यो घटनाको विषयमा केही गर्न सकिन्छ।’

मृतकका श्रीमान राजेश महतोले अस्पतालमा आफू असुरक्षित महसुस गरेपछि सहमति गरेको बताए। फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएको अस्पतालले नै स्वीकारेको छ। तर, यस्तो चरम लापरबाही र गम्भीर प्रकृतिको घटनामा पनि ढाकछोप गर्न लागेको भ्रष्टाचार अभियानका सचिव कुलदिप साहले बताए ।

गत वर्ष साउन ५ मा सामान्य बिरामीलाई अत्यधिक मात्रा भएको कडा औषधि प्रयोग गर्दा मृत्यु भएको थियो। धनुषाको बटेश्वर गाउँपालिका ३ बस्ने ५२ वर्षका विन्देश्वर ठाकुरको अस्पतालकै लापरवाहीले मृत्यु हुँदा हंगामा भएको थियो। सो घटनामा पनि अस्पतालले प्रहरी प्रशासनकै मिलेमतोमा मृतक परिवारलाई ४ लाख रुपैयाँमा लिएर घटना ढाकछोप गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome