सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

गीतकार डा. उपाध्यायले एकै दिन बनाए १७ विश्व कीर्तिमान

२६ श्रावण, २०७७ ०८:३० मा प्रकाशित

684 पटक पढिएको

nepali lyricists dr updhyaya sets 17 world records in a day

काठमाडौं – नेपाली लेखक तथा गीतकार डा. डी. आर. उपाध्यायले एकै दिन १० फरक विधामा १७ विश्व कीर्तिमान कायम गरेका छन्। १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्रै गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका उपाध्यायले लेखनमार्फत एकल ३२ विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि नै उनले अन्य १४ वटा विश्व कीर्तिमान बनाइसकेका छन्।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा विश्व रेकर्डको आधिकारिक प्रमाणपत्र प्रदान गरे।

एकै दिन फरक १७ विधामा १० विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै प्रमाणपत्र पाउने उपाध्याय पहिलो हुन्। ‘यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो’, कार्यक्रममा मन्त्री यादवले भने।

उनले अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाइटेड किङ्डम, युरोपियन रेकर्ड बुक, यूआरएफ वर्ल्ड रेकर्ड, एस्क्युसिभ वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७/१७ विधामा एकसाथ वर्ल्ड रेकर्ड बनाएका छन्।

वर्ल्ड रेकर्ड प्राप्त गरेका १७ विधामा नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एकएक हरफको सामाजिक सन्देश प्रवाह गर्ने दुई सय लाइनको गीत छ। त्यस्तै, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, सांकेतिक भाषाद्वारा गीतको शब्द परिभाषित गरेको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिको नाम तथा कामबारे बनाइएको गीत, अक्षर अक्षरको गीत (एक अक्षर पुरुष र अर्को नारी), तीनवटा सप्तक बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेकोे अत्यधिक नामबाट गीत रहेका छन्।

यसैगरी प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनेको गीत, एउटा गीतमा धेरै थरीका रूख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत उपाध्यायका रहेका छन्।

२ बाइ २ इन्चको सबैभन्दा सानो आकारको गीति पुस्तक, आठवटा उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक संग्रह, एकै दिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन गरेको गीत, एकै दिन १९ सीडी एल्बम धेरै पोस्टबक्समा खसालेको गीत, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक वाचन गरेको गीत तथा आफ्नै शब्द रचनाको ३-२ को सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको गीत रहेका छन्।

नेपाली गीतसंगीतमा लागेकालाई यो खबर अत्यन्त सुखद पक्ष भएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि गौतमले बताए। कार्यक्रममा उपाध्यायका चार गीतिसंग्रह कर्तव्यबोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी मन्त्री राय यादवले विमोचन गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome