सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

रक्षामन्‍त्रीको हस्तक्षेपप्रति जंगीअड्डा असन्तुष्ट

२६ श्रावण, २०७७ १७:०८ मा प्रकाशित

553 पटक पढिएको

coas purna chandra thapa

काठमाडौ – उपप्रधान तथा रक्षामन्‍त्री ईश्वर पोखरेलको भूमिकाप्रति नेपाली सेना असन्तुष्ट देखिएको छ। फास्टट्रयाक, मेडिकल खरिद, हतियार आपूर्तिलगायतका विषयमा रक्षामन्‍त्रीबाट अनावश्यक हस्तक्षेप र चलखेल गरेको भन्दै सैनिक नेतृत्वले प्रधानमन्‍त्री केपी ओलीसमक्ष असन्तुष्टी जनाएको छ।

यसबारेमा प्रधानमन्‍त्री ओलीले पोखरेलसँग सोधिसकेका छन्। ओलीले सेनालाई विश्‍वासमा लिएर काम गर्न आग्रह गर्दै नेपाली सेनाको चरित्र र छविमा धक्का लाग्‍ने गतिविधि नगर्न पोखरेललाई सम्झाएको स्रोतले बतायो।

स्रोतका अनुसार प्रधानमन्‍त्री केपी ओलीसँगको पछिल्लो भेटमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलले सेनालाई अपमान र असहयोग गरेको गुनासो गरेका छन्। उनको हस्तक्षेपकारी भूमिका कारण सेनाले स्वतन्‍त्र र व्यवसायिक ढंगले काम गर्न समस्या भएको बताएका छन्। सेनाको आन्तरिक व्यवस्थापन तथा विषयमा समेत रक्षामन्‍त्रीको अनावश्यक चासो र चलखेल हुन थालेपछि जंगीअड्डा बढी सतर्क देखिएको छ। ‘

मेडिकल खरिद प्रकरणदेखि रक्षामन्‍त्रीसँग जंगीअड्डाको सम्बन्ध अलि चिसिएको हो। हतार हतारमा सेनालाई मेडिकल खरिदमा सामेल बनाएर फसाएको निश्कर्षसहित सेना यो प्रक्रियाबाट बाहिरिएको थियो। रक्षामन्‍त्रीको नियत र भूमिकाप्रति त्यतिबेला पनि सेनाले प्रश्‍न उठाएका थियो। सेनालाई विश्‍वासमा लिएर काम गर्न नसकेको भन्दै प्रधानमन्‍त्रीले पनि रक्षामन्‍त्रीको भूमिकाप्रति अप्रशन्‍नता व्यक्त गर्दै आएको स्रोतले बतायो।

गत साउन १५ गते रक्षा मन्‍त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा फास्टट्रयाकको प्रसंगमा रक्षामन्‍त्रीले गरेको टिप्पणी आपत्तिजनक र अपमानजनक रहेको गुनासो सेनापति प्रधानमन्‍त्रीसमक्ष गरिसकेका छन्।रक्षामन्‍त्रीले अध्यक्षता गरेको उक्त कार्यक्रममा सेनापति थापा, मन्‍त्रालयका अधिकारी र जंगीअड्डाका उच्च अधिकृतहरू सहभागी थिए। त्यहाँ रक्षामन्‍त्री पोखरेलले सेनाको कार्यशैलीलाई हिन्दी उखान ‘लकिरका फकिर’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए। फास्टट्र्याक निर्माणमा भइरहेको ढिलाइ प्रसंगमा यस्तो टिप्पणी गरेका थिए।

फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले प्रशासनिक जटिलता, केही स्थानमा देखिएको राजनीतिक विरोध र अवरोध, परामर्शदाता छनोटमा ढिलाइ, राजनीतिक तहबाट प्रभावकारी समन्वय र सहयोगको अभावलगायतका कारणले गर्दा अपेक्षित प्रगति हुन नसकेको बताउँदै आएको छ।

रक्षामन्‍त्रीजस्तो जिम्मेबार व्यक्तित्वबाट सेनाको बारेमा यस्तो सस्तो र उत्ताउलो टिप्पणी गरेको भन्दै सैनिक वृत्तमा समेत यसको आलोचना र विरोध भएको छ। अवकासप्राप्त सेनाका पूर्व उच्च अधिकृतहरूले समेत रक्षामन्‍त्रीको यो टिप्पणी आपत्तिजनक र अशोभनीय रहेको बताउँदै यसले सेनाको अपमान भएको बताएका छन। ‘पुलिसमा जस्तो सेनालाई पनि चलाउन र खेलाउन सकिन्छ कि भनेर ट्रायल गर्नु मन्‍त्रीजीको भ्रम र भूल हो, एकजना पूर्वरथीले भने।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome