मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

डोटीमा बस दुर्घटना : तीन जनाको मृत्यु, ८ गम्भीर घाइते

२८ श्रावण, २०७७ १५:४७ मा प्रकाशित

808 पटक पढिएको

accident grahic

डोटी – डोटीमा बस दुर्घटनामा मृत्यु हुने तीन जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा अछाम चौरपाटी गाउँपालिका, मार्कु घर भएका ३१ वर्षीय बसका सहचालक टीकाराम बिक, अछाम बान्नीगडी जयगड– ३ धामीगाउँका ६० वर्षीय पदम साउँद र अछाम साँफेबगर नगरपालिका– २ घर भई हाल कैलाली बस्ने ५५ वर्षीय लक्षिमादेवी बिक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी ईन्द्रबहादुर मल्लले जानकारी दिए।

धनगढीबाट अछाम जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस बुधबार बिहान ६ बजे डोटीको पूर्बीचौकी गाउँपालिका – १ तल्लोफुलौटमा दुर्घटना भएकोहो। कोरोना महामारीका कारण भारतबाट घर फर्कने क्रममा उनीहरु बसमा सवार रहेका थिए। दुर्घटनामा ३३ जना घाइते भएका छन्। बसमा चालकसहित ३७ जना रहेका प्रहरीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेहरुलाई रिफर गरिएको अस्पतालका डाक्टर प्रमोद भट्टले जानकारी दिए। गम्भीर घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ। बसमा सवार सबै भारतबाट आएका कारण घाइतेहरु सबैको पिसिआर टेष्टको लागि स्वाब संकलन गरेर डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइसकिएको डाक्टर भट्टले बताए। घाइतेहरुको उपचार गर्दा सबै प्रकारका सुरक्षा अपनाएर स्वास्थ्यकर्मीको टोली परिचालित भएको अस्पताल स्रोतले जनाएको छ।

बस सडकबाट एक सय मिटर तल खसेको थियो। चालकको लापरबाहीका कारण बस दुर्घटना भएको र चालक निदाएको हुनसक्ने प्रहरीले जनाएको छ। सडक क्षेत्र राम्रै भएपनि दुर्घटना कसरी भएको हो भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। अहिले चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
कोरोनाको महामारी भइरहेका बेला बसमा सवार सबै भारतबाट आएका कारण उद्धारमा खटिएका प्रहरी, स्थानीय लगायतले ग्लोब्स, मास्कको प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। उद्धार गर्नु पहिलो कर्तव्य रहेकाले आफुसँग भएका सुरक्षाका सामग्रीको प्रयोग गरेर उद्धारमा खटिएका पाण्डेले जनाए।

स्थानीयमा सन्त्रास

बस दुर्घटनाबाट स्थानीयमा सन्त्रास फैलिएको छ। बिशेषगरी भारतबाट आएका व्यक्तिहरु दुर्घटनामा परेका कारण त्रास फैलिएको हो। पछिल्लो समय भारतबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएका कारण घाइते तथा मृतकहरुमा पनि कोरोना हुन सक्ने भएकाले स्थानीयमा त्रास फैलिएको हो।

उद्धारमा समेत स्थानीय खटिएका कारण झनै त्रास फैलिएको स्थानीय बलबहादुर खड्काले बताए। सामान्य ग्लोब्स तथा मास्क मात्रै प्रयोग गरेर घाइतेहरुको उद्धार भएका कारण कोरोना सरिहाल्छ की भन्ने आशंका समुदायमा फैलिएको खड्काले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome