शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

१५ किलो नक्कली सुनका अभियुक्त अन्सारी भारतको ‘मोस्ट वान्टेड’ सूचीमा

३० श्रावण, २०७७ ०८:३७ मा प्रकाशित

791 पटक पढिएको

criminal ansari

काठमाडौं – १५ किलो चाँदीमा सुनको जलप लगाएको घटनामा फरार अभियुक्त इल्ताफ हुसेन अन्सारी बिहीबार पर्सामा पक्राउ परेका छन् । पछिल्लो पटक अन्सारी सुनचाँदी र पेस्तोल बरामद घटनामा जोडिए पनि उनी भारतीय जाली नोटका कहलिएका कारोबारी हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी अन्सारीलाई काठमाडौं पठाएको हो । प्रहरीले बरामद गरेको सुनचाँदी भारतमा लगेर बिक्री गर्ने योजना विफल भएपछि अन्सारी गाडी छाडेर भागेका थिए ।

अन्सारीको साथमा रहेका सञ्जय पटेल भने अझै फरार छन् । अन्सारीकै योजनामा सुन लिन वीरगन्जदेखि काठमाडौं आएका थिए पटेल । प्रहरीले यो प्रकरणमा अधिकांश व्यक्ति पक्राउ गरिसकेको छ ।

जलप लगाएको सुन प्रहरीकै जुनियर कर्मचारीको सहयोगमा तस्करी हुन खोज्दा भागबन्डा नमिलेपछि सूचना लिक भएको थियो । प्रहरीले हालसम्म निलेश सखिया, देवानसिंह पटेल, कौशल पटेल, उमेश श्रेष्ठ तथा प्रहरीद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई सुनको जलप लगाएको चाँदीको ब्याग दिन प्रयोग भएको गाडी अन्सारी र उनकी बहिनी फुलताज अन्सारीको नाममा छ । प्रहरीका अनुसार अन्सारीकै योजनामा १५ किलो चाँदीमा सुनको जलप लगाइएको थियो ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार यो प्रकरणका अन्सारी प्रमुख पात्र हुन् । उनीसँग बयान लिएपछि थप रहस्य खुल्ने जानकारी थापाले दिए । प्रहरीले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ ।

को हुन् अन्सारी ?

बारा जिल्ला जितपुरका अन्सारी सुरुमा सीमामा बसेर भारत र नेपाल प्रहरीका लागि सुराकीको काम गर्ने सामान्य व्यक्ति थिए । पछि उनको सम्बन्ध युनुश अन्सारी (भारतीय जाली नोट कारोबारमा हाल कारागारमा रहेका) सँग भयो । युनुशकै योजनामा हुने गरेका भारतीय जाली नोट कारोबारमा अन्सारी पनि सक्रिय बने ।

युनुशकै माध्यमबाट अन्सारीको पाकिस्तानी एजेन्टसँग पनि सम्बन्ध बन्यो । नेपाली भूमिहुँदै भारत भित्रिने भारतीय जाली नोट तस्करीमा अन्सारी पनि हिस्सेदार बन्दै गए । २०६५ साल पुसमा युनुश पहिलोपटक भारतीय जाली नोट कारोबारमा पक्राउ परेपछि भने अन्सारीले छुट्टै समूह बनाएर तस्करी गर्न थाले ।

प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक प्रहरी अधिकृतका अनुसार अन्सारी पाकिस्तानी एजेन्टसँंग मिलेर जाली भारतीय नोटको कारोबार गर्दै आएका थिए । भारतले समेत ‘मोस्ट वान्टेड’ सूचीमा राखेपछि उनी लामो समय भारतीय सीमावर्ती जिल्ला बारा र पर्सामा बसेर आफ्नो धन्दा चलाउँदै अएका थिए ।

आफ्नो पछाडि भारतीय सुरक्षा एजेन्सी लागेको सूचना पाएपछि अन्सारीे पछिल्लो समय जाली भारतीय नोट कारोबारको धन्दालाई प्राथमिकतामा नराखी सानातिना सुन कारोबारीसँग मिलेर ठगीधन्दा चलाउँंदै आएका थिए ।

ब्युरोका अवकाश प्राप्त एक अधिकृतका अनुसार नेपालमा भारतीय जाली नोट भित्रिएका केही सूचनामा अन्सारीकै सहयोग थियो । ती अधिकृतले भने,‘जब पहिलो पटक युनुश अन्सारी पक्राउ परेर जेल गए, त्यसबेलादेखि नै इल्ताफले भारतीय जाली नोटको कारोबार छाडेको हुनुपर्छ ।’

अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले २०७२ जेठ ३० गते पक्राउ गरेको थियो । भारतीय जाली नोटको कारोबारमा पक्राउ परी तीन वर्षको सजाय काटेर उनी २०७५ सालमा जेलमुक्त भएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome