सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

लिदी पहिरो : टुहुरालाई १२ सम्म निःशुल्क आवासीय शिक्षा, मृतकका परिवारलाई १ लाख राहत

३२ श्रावण, २०७७ ०८:०७ मा प्रकाशित

743 पटक पढिएको

landslide in lidi sindhupalchowk

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो ।

काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार थप सात जनाको शव फेला परेको थियो ।

तामाङ कलाकार संघले दियो एक लाख २५ हजार

यसैबीच जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।

संघले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बुबाट २५ हजार सहयोग गरिएको संघका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome