बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

लिदी पहिरोमा बेपत्ता १८ जनाको शव भेटियो

१ भाद्र, २०७७ ०८:२० मा प्रकाशित

410 पटक पढिएको

landslide in lidi sindhupalchowk

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो।

यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सात महिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome