२ भाद्र, २०७७ १६:५१ मा प्रकाशित
1789 पटक पढिएको
काठमाडौं – कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म एक साता निषेधाज्ञाको निर्णय भएको स्रोतले जानकारी दियो ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफल भएको थियो।
जिल्लाका सुरक्षा प्रमुखले छलफलपछि गरेको सिफारिसलाई गृहमन्त्रालयले अनुमोदन गरेको हो। अन्य जिल्लाको हकमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीडीओलाई दिइए पनि राजधानी भएकाले उपत्यकामा गृहमन्त्रालयसँग समन्वय हुँदै आएको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यसअघि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको थियो। मंगलबार एकै दिन २०५ जनामा संक्रमण देखिएपछि सरकार निषेधाज्ञाको निर्णयमा पुगेको हो।
उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार नाघिसकेको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ।