मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी

६ भाद्र, २०७७ ०८:०६ मा प्रकाशित

392 पटक पढिएको

biratnagar municipality

विराटनगर – प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका चारवटा स्थानीय तहलाई लक्षित गरेर शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा गरिएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ। महानगरले यसअघि दोस्रो पटक गरेको ‘लकडाउन’ को समय शुक्रबारराति सकिँदै गर्दा सुरक्षा समितिले निषेधाज्ञा आवश्यक रहेको निस्कर्ष निकालेर निर्णय लिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना भाइरसको संक्रमणका कारण बढी प्रभावित बनेका ठाउँलाई लक्षित गरेर निषेधाज्ञा गरिएको जानकारी दिए।

विराटनगर महानगरका सबै वडा र रंगेली नगरपालिका, कटहरी तथा बूढीगंगा गाउँपालिकाको केही वडामा निषेधाज्ञा गरिएको हो। बूढीगंगा र कटहरी विराटनगरसँग सीमा जोडिएका स्थानीय तह हुन्।

रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा मात्रै यो लागू हुनेछ। त्यस्तै कटहरी गाउँपालिकाको १, २, ३, ४ र ५ तथा बूढीगंगाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा गरिएको छ।

प्रजिअ निरौलाले निषेधाज्ञाको अवज्ञा गर्नेलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए। उनका अनुसार निषेधाज्ञाको अवधिमा कलकारखाना, उद्योग सञ्चालनमा भने रोक लगाइएको छैन। निषेधाज्ञामा पसल र बजार खोल्न, हिँडडुल गर्न, सवारी साधन सञ्चालन गर्न पाइने छैन।

त्यस्तै औषधि पसल, अस्पताल खोल्न तथा एम्बुलेन्स लगायतका अति आवश्यकीय सवारी साधन सञ्चालन गर्न पाइने निरौलाले बताए। सर्वसाधारणले पनि अति आवश्यकीय सामग्री खरिदका लागि नियमको पालना गर्दै जान पाउने उनको भनाइ छ।

मोरङमा विराटनगर सबैभन्दा बढी प्रभावित बनेको स्थानीय तह हो। विराटनगरमा शुक्रबारसम्ममा सात सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ। विराटनगरमा कोरोना कारण नौ जनाको मृत्यु भइसकेको छ। बूढीगंगा र रंगेलीमा पनि एक/एक जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome