सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

६७ वर्षीय हरिबहादुर जसले चितुवासँग लडेर आफ्नो ज्यान बचाए

७ भाद्र, २०७७ १५:२२ मा प्रकाशित

789 पटक पढिएको

67 year old man fights against and kills leopard

बेंसीसहर – आइतबार बिहान लमजुङ बेंसीसहरका एक वृद्धले भने बहादुरीकासाथ चितुवासँग कुस्ती खेलेका छन् । बेंसीसहर नगरपालिका–९ साम्दीका ६७ वर्षिय हरिबहादुर थापा घाँस काट्न घरबाट के निस्किएका थिए चितुवासँग जम्काभेट भयो । आहारा खोज्दै घरतर्फ आइरहेको चितुवाको निशाना थापामाथि पर्‍यो । पहिलो भेटमै चितुवाले थापालाई खेतको गह्रामा हुत्ताइदियो ।

चितुवाले चिर्थोदा उनको हातमा घाउ लाग्यो । धानबारीमा लडेका थापाले भने हरेस खाएनन् । बरु चितुवाको दोस्रो प्रहार रोक्दै खुर्पाले हान्न भ्याए । त्यसपछि चितुवापनि घाइते भयो । ‘बुवा र चितुवाबीच धानखेतमा घम्साघम्सी भयो’, हरिबहादुरका छोरा रामप्रसादले भने, ‘बुवाले एक हातले छेक्दै अर्को हातमा भएको खुर्पाले हान्नुभयो ।’

खुर्पा प्रहारले चितुवाको टाउको, नाकको डाँडी, खुट्टामा चोट लाग्यो । केहीबेरमा चितुवा मर्‍यो। हरिबहादुरको पनि हातखुट्टामा चोट लाग्यो । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।मरेको चितुवा डिभिजन बन कार्यालयलाई जिम्मा लगाइएको छ । चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले जानकारी दिए ।

राहत सहयोगसम्बन्धी निर्देशिका २०६९ अनुसार जंगली बन्यजन्तुहरु हात्ती, बाघ, भालु, चितुवा, हिउँ चितुवा, अर्नाले पुर्‍याउने मानविय, पशुधन र अन्नबालीको क्षतिको राहत उपलब्ध गराउने प्रावधान छ ।

बन्यन्तुको आक्रमणबाट मानिस तथा पशुको मृत्यु वा घाइते भएमा, अन्नबालीको नोक्सानी भएमा वा भण्डारण गरेको अन्नपातको नोक्सानी भएमा सम्बन्धित कार्यदलको सिफारिसको आधारमा राहत उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

बन्यजन्तुबाट मानिसको मृत्यु भएमा आस्रित परिवारलाई १० लाख रुपैयाँ, घाइते भएमा २ लाख रुपियाँ र त्यति रकम पनि अपुग भएमा संघ सरकारले थप रकम दिने प्रावधान छ । पशुधनको क्षति भएमा स्थानीय बजारमूल्य अनुसार राहत उपलब्ध गराउने व्यवस्था छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome