सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

मध्यपुर थिमिमा समुदायस्तरमै कोरोना

८ भाद्र, २०७७ १५:४९ मा प्रकाशित

326 पटक पढिएको

madhyapur thimi municipality

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले निष्कर्ष निकालेका छन् । उनीहरुले मध्यपुर थिमिको वडा नं १, ३, ६, ७, ८ र ९ को समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिइसकेको दावी गरेका हुन् ।

मध्यपुर थिमि नपा भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी संक्रमति भेटिएको स्थानीय तह हो । यहाँ शनिबारसम्ममा एक सय ५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले नै मध्यपुर थिमि नपाको वडा नं. १, ३, ६ र ८ मा समुदायस्तरमा कोरोना भाइरस संक्रमण भएको जनाएको हो । मध्यपुर थिमि नपाका ९ वटै वडामा संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा बढी वडा नं. ३ का संक्रमित रहेका छन् । यहाँका ३६ जनालाई संक्रमण पुष्टि भएको छ । भक्तपुर काठमाडौं ६ लेन सडकअन्तर्गत मध्यपुर थिमिको गट्ठाघर र कौशलटार खण्ड वडा नं. ३ मा पर्छ ।

त्यसपछि वडा नं. १ मा २१ जना संक्रमित छन् । काठमाडौं र ललितपुर सीमा जोडिएको मनहरा फाँट, लोकन्थली, दिव्यश्वरी क्षेत्र वडा नं. १ मा पर्छ । वडा नं. ३ र १ पछि ७ मा १० जना, ६ मा ८ जना, ९ मा ६ जना र ८ वडामा ४ जना संक्रमित रहेका छन् । वडा नं. ७ नगदेश क्षेत्र हो । ६ नं.वडाअन्तर्गत मध्यपुर थिमिको कोर एरिया बहाखाबजार र चपाचो पर्छन् । वडा नं. ९ निकोसेरा, राधेराधे, टिगनी नीलबाराही क्षेत्र पर्छन् । ८ नं. ८ मा मध्यपुर थिमिको पुरानो सहर बोडे पर्छ ।

‘अहिलेको संक्रमणको अवस्था हेर्दा मध्यपुर थिमिमा समुदायस्तरमा कोरोना भाइरस परीक्षण गर्न आवश्यक छ’, स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजार भन्छन्, ‘पछिल्लो तथ्यांक हेर्दा मध्यपुर थिमिको वडा नं. १, ३, ६, ७, ८ र ९ मा सर्वसाधारणको चहलपहल नियन्त्रण गर्न ढिलाइ गर्न हुन्न ।’ उनले बढी संक्रमित देखिएका वडामा समुदायस्तरमा कोरोना परीक्षण गर्नेबारे छलफल भइरहेको भने जानकारी दिए ।

उनका अनुसार कार्यालयमार्फत मास स्वाब परीक्षण गर्न केन्द्र सरकारबाट निर्णय हुनुपर्छ । यो प्रक्रिया लामो छ । त्यसैले छिटो छरितो गर्न स्थानीय नगरपालिकाले नै मास स्वाब परीक्षण गर्नुपर्ने उनले स्पष्ट पारे ।

‘मध्यपुर थिमिका बढी संक्रमण देखिएको वडामा मास स्वाब परीक्षण गर्ने कुरा भइरहेको छ’, प्रमुख मिजारले भने, ‘तर हामीले गर्नुअघि केन्द्र सरकारबाट निर्णय हुनुपर्छ । त्यसैले नपाबाटै भए छिटो हुन्छ ।’

मध्यपुर थिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पीसीआर मेसिन भएकाले नपाले छिटो मास स्वाब परीक्षण गर्न सक्ने उनले स्पष्ट पारे । यस विषयमा पहिल्यै मध्यपुर थिमि नपासँग कुरा भए पनि सुनुवाइ नभएको प्रमुख मिजारले जानकारी दिए ।मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ भने आफ्नो नगर क्षेत्रमा समुदायस्तरमै कोरोना परीक्षण गर्ने तयारी अघि बढाइएको बताउँछन् । उनले उपत्यका नगरपालिका फोरमले यस विषयमा निर्णय गर्ने जानकारी दिए ।

उनका अनुसार यसबारे आइतबारमात्रै नगरपालिका फोरमको बैठक बसेको थियो । फोरमको बैठक सोमबार पनि बस्ने उनले बताए । सोही बैठकले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने र समुदायमा कोरोना परीक्षण गर्ने तालिका नै बनाइने प्रमुख श्रेष्ठको भनाइ रहेको छ ।

क्षेत्रफलको आधारमा सबैभन्दा बढी संक्रमणदर

मध्यपुर थिमि नपा क्षेत्रफलको आधारमा कोरोना संक्रमणदर बढी हुने नपामा पहिलो हो । क्षेत्रफलको आधारमा मध्यपुरका करिब ९ प्रतिशतको दरले कोरोना भाइरस संक्रमण रहेको छ । मध्यपुर थिमि नपाको क्षेत्रफल ११.४७ वर्ग किलोमिटर रहेको छ । जबकि भक्तपुर जिल्लाको संक्रमणदर करिब २ प्रतिशतमात्रै छ । भक्तपुरको क्षेत्रफल ११९ वर्ग किलोमिटर रहेको छ । र, यहाँ संक्रमितको संख्या २ सय ९० पुगेको छ ।

पछिल्लोपटक कोरोना भाइरस संक्रमण भयावह देखिएको वीरगञ्ज महानगरपालिका रहेको पर्साकै क्षेत्रफलको हिसाबले करिब १.५ प्रतिशतमात्रै संक्रमणदर देखिएको छ । शनिबारसम्ममा पर्सामा एक हजार ९ सय २८ संक्रमित पुगेका छन् । यहाँको क्षेत्रफल १३५३ वर्ग किलोमिटर रहेको छ ।

मध्यपुर थिमिपछि काठमाडौं जिल्लाको संक्रमणदर ६ प्रतिशतको हाराहारीमा रहेको छ । काठमाडौंमा शनिबारसम्म दुई हजार ४ सय ५५ संक्रमित पुगेका छन् । काठमाडौं जिल्लाको क्षेत्रफल ३९५ वर्ग किलोमिटर रहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome