सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

आफ्नो नातेदारले पद वा सम्बन्धको दुरुपयोग नगरेको मन्त्री पोखरेलको दाबी

१० भाद्र, २०७७ १६:२८ मा प्रकाशित

425 पटक पढिएको

minister ishwor pokharel

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरेका छन्। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री पोखरेलले त्यस्ता समाचारमा सत्यता नभएको दाबी गरेका हुन्।

‘केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री पोखरेलले भनेका छन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन।’

पोखरेलले सबै काम विधिसम्मत, पारदर्शितासहित संस्थागत निर्णयका आधारमा भएको दाबीसमेत गरेका छन्।

उनले कतै अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सजायको भागिदार हुने प्रतिवद्धतासमेत जनाएका छन्। आफ्नो विषयमा तथ्यहीन र गलत मनसायका साथ सार्वजनिक भएका समाचारले भ्रममा नपर्न उनले सबैलाई आग्रह समेत गरेका छन्।

मन्त्री पोखरेलले राजाको शासनमा घरको पानी ट्यांकीमा पैसा राखेको कुप्रचार भएको सम्झना गर्दै शाही शासनका मतियारहरु नयाँ ढंगले आफू विरुद्ध उरालिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो। अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु’, मन्त्री पोखरेलले थप भनेका छन्, ‘सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु। तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन।’

मन्त्री पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएपछि राजनीतिक नियुक्ति दिइएको भन्दै पोखरेलको चर्को आलोचना भएपछि उनले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome