सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

दीर्घरोगी थिइनन् कोरोनाका कारण ज्यान गएकी पोखराकी ३२ वर्षीया महिला

१२ भाद्र, २०७७ ०७:१७ मा प्रकाशित

801 पटक पढिएको

corona patient dies

पोखरा – साउनको अन्तिम साता सास फेर्न गाह्रो भएपछि र ज्वरो आएर अस्पताल गएकी पोखराकी एक महिलाले बिहीबार ज्यान गुमाइन्। उनको मृत्युको कारण भने कोरोना भाइरस रोग (कोभिड १९) पुष्टि भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा १२ की ३२ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो। उनलाई भदौ ६ गते कोरोना पुष्टि भएको थियो।

क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनमा निमोनिया भएको थियो। भदौ ७ गते क्षेत्रीय अस्पताल भर्ना हुनुअघि उनको उपचार कास्की सेवा अस्पतालमा भएको थियो। त्यहाँका डाक्टर पदम खड्काका अनुसार उनलाई धेरै अक्सिजन दिएर भेन्टिलेटरमै राखेर आइसियुमा उपचार गरिएको थियो।

कास्की सेवामा आउनुअघि उनी मणिपालबाट रेफर भएको जानकारी डा. खड्काले दिए। उनका अनुसार त्यसअघि उनी पोखराकै साई अर्चना अस्पतालमा भर्ना भएर उपचार गराएकी थिइन्। खड्काकै भनाइमा ती महिलामा बिरामी भएर अस्पताल आउनुअघि कुनै दीर्घरोग नरहेको मेडिकल हिस्ट्री छ। तर कोरोना भाइरस लागेरै ज्वरो आउने र सास फेर्न गाह्रो हुने भएको वा अर्कै कारणले भन्ने थाहा छैन। उनलाई कोरोना भाइरस संक्रमण कसरी भयो भन्ने पनि यकीन छैन।

स्थायी घर तनहुँको बन्दिपुर भएपछि ती महिला सपरिवार लामो समयदेखि पोखरा १२ चापापानीमा बस्दै आएको स्थानीयले जनाएका छन्। उनका श्रीमान् र २ सन्तान छन्। मृतक महिलाको शव बिहीबार नै पोखरा ३२ मजुवामा गाडिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाएको छ। यहाँ अहिलेसम्म ५ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन्। त्यसमध्ये स्याङ्जाका ३ र पोखराका ३ छन्।

गण्डकी प्रदेशमा अहिलेसम्म कोभिड १९बाट ज्यान गुमाउनको संख्या ९ पुगिसकेको छ। गण्डकी प्रदेशमा बिहीबारमात्रै ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या २ हजार ५ पुगेको छ। तीमध्ये १६ सय ७२ जना निको भएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome