मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार, भिनाजु पक्राउ

१३ भाद्र, २०७७ ०८:५२ मा प्रकाशित

730 पटक पढिएको

kidnapper in custody

नेपालगन्ज – आफ्नै सालो अपहरण गरी १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए।

खजुरा-५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको एसपी रानाले प्रष्ट पारे। ‘बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि हामीले खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भयौं। ११ भदौमा जानकी गाउँपालिका-५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्‍यौं।’

प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ।

‘पीडित बालकको परिवारले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि पैंसाकै लागि अपहरण गरेको देखिन्छ’, एसपी रानाले भने, ‘बालक अपहरणका २४ घण्टापछि मात्र प्रहरीमा खबर आयो। प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome