सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

कोरोना, लकडाउन र देशको अर्थतन्त्र : हामी कुन बाटो जाँदैछौँ ?

१५ भाद्र, २०७७ १६:३४ मा प्रकाशित

932 पटक पढिएको

arjun dahal

कोरोना भाईरस (कोभिड – १९) को बारेमा धेरैजनाको धारणा र अनुमान देखियो अनि सुनियो पनि । तर अझै पनि केहि अनुत्तरीत प्रश्नहरु बाँकी नै छन् जसको म उत्तर खोज्ने प्रयास गर्दैछु । विश्व जगतमा कोरोना भाईरसको नाममा केहि त पक्कै भइरहेको छ जसका बारे हामी अनविज्ञ छौँ । यस लेख मार्फत म हामीले विश्वास गरिराखेका केहि भ्रमहरुलाई चिर्ने जमर्को गर्नेछु जसपश्चात शायद तपाईं पनि यो महामारीलाई केहि फरक तरिकाले विश्लेशण गर्नुहुनेछ भन्ने विश्वास राखेको छु ।

कोरोनाको महामारीले पक्कै पनि हामी सबैलाई आक्रान्त बनाएको छ । तर ईन्टरनेशनल लेबर अर्गनाईजेसनले केहि क्षेत्र अरु भन्दा बढी नै मारमा परेको जनाएको छ । आउनुहोस् एकपटक ति क्षेत्रहरु कुन कुन रहेछन् हेरौँ ।

ईन्टरनेशनल लेबर अर्गनाईजेसनले जनाए अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रहरु

  • मिडिया
  • संस्कृती
  • वन जंगल
  • सार्वजनिक सेवा
  • यातायात
  • आपतकालीन सेवाहरू
  • मोटर उद्योग
  • खाद्ध्य र खुद्रा पसल
  • लत्ता कपडा उद्योग
  • हवाई सेवा
  • स्वास्थ्य क्षेत्र
  • शिक्षा क्षेत्र
  • समुद्री ढुवानी
  • पर्यटन क्षेत्र
  • कृषि क्षेत्र

यी क्षेत्रहरु सबैभन्दा बढी प्रभावित छन् भनेर विश्व जगत हामीलाई देखाउन चाहन्छ । मलाई लाग्दैन कि यि मध्य कुन कुन क्षेत्रहरु प्रभावित छन् भनेर मैले यहाँ वयान गरिरहनु पर्दछ । यस विषयमा तपाईं आफैँ पनि विश्लेषण गर्न सक्नुहुन्छ । यस लेख मार्फत म त्यो कुरा तपाईंलाई देखाउन चाहन्छु जुन कुरा अन्तर्राष्ट्रीय समुदाय हामीलाई थाहा नहोस् भन्ने चाहन्छ ।

एक चोटी गहन बिचार गरेर हेर्नुहोस् त यो बेला हामी के कस्ता सामग्रीहरु खरिद गरिरहेका छौँ । आजकल अन्लाईन सपिङ साइटहरुमा सबैभन्दा बढी बिर्क्री हुने सामग्रीहरु यस्ता छन् ।

  • N95 मास्क
  • सेनीटाईजर
  • सर्जिकल मास्क
  • स्वास्थ्य सामाग्री
  • सौन्दर्य सामाग्री
  • धेरै समय घरमा बस्नका लागी आरामदायी फर्निचर
  • सजावटका सामाग्री
  • पेय पदार्थ

के हामी साँच्चै नै आफ्ना लागी अत्यावश्यक सामाग्रीहरु खरिद गर्दैछौं या हल्लाको भरमा कुदिरहेका छौँ ? हो, कोरोना शब्दले नै हामीलाई निराश बनाउँछ तर के यसले सबैलाई उत्तिकै निराश बनाएको छ त ? कती उद्योगहरु बन्द हुने अवस्थामा छन् त ? केहि साना तिना उद्योग प्रभावित होलान् तर ठुला उद्योगहरुलाई केहि फरक परेको देखिँदैन ।

हामी आफ्नो दैनिकिलाई नै नियालेर हेरौँ न एक पटक । ५ महिनाको लकडाउनमा हाम्रो दैनिक जीवन यापन गर्न चाहिने कुन कुराको अभाव छ बजारमा ? हामीसँग कमी छ त केवल पैसाको, होईन भने बजारमा जुनसुकै सामान सजिलै उपलब्ध छ ।

एक झलक खाद्य उद्योगलाई हेरौँ त । के यो ५ महिना उद्योग कल कारखाना बन्द भएर कुनै खाद्य सामाग्री बजारमा नआईपुगेको छ त ? कुनै खाद्य पसल खाद्य सामाग्री नभएर बन्द भएको देख्नुभयो अहिलेसम्म ? बजारमा खाद्य सामाग्रीको माग पनि उस्तै छ र आपूर्ती पनि ।

खुद्रा बजारलाई हेर्ने हो भने कतिपय ठाउँमा लकडाउनले गर्दा व्यापारीहरु सामान महँगीयो भन्दै बजार भाऊ बढाइरहेका भेटिनेछन् तर भनेको पैसा तिर्नुहोस् जत्ती भन्यो त्यत्ती सामान पाइन्छ ।

ईन्टरनेट व्यवसाय हेर्ने हो भने अहिलेको सबैभन्दा बढी कमाई गर्ने व्यवसाय नै यही भएको छ । शत प्रतिशत प्रयोगकर्ता बढेका छन् । बिहान बेलुका त फेसबूक र युट्युब बाहेक अरु कुनै पनि साइट खोल्न खोज्यो भने ब्यान्डविड्थ नपुगेर निक्कै समय लाग्ने भएको छ ।

स्वास्थ्य क्षेत्र हेर्ने हो भने बिरामी अस्पताल सधैँ गएकै छन् । बिरामिको चाप केहि कम भएको होला तर सेवा शुल्क असुलीमा कहिँ कतै कमी देखिन्न ।

वास्तविकता हेर्ने हो भने हामी कता गैइरहेका छौँ त ? हामी मास्क र सेनिटाईजरको माग दिनकै बढाईरहेका छौँ । उद्योग कलकारखाना बन्द छन् तर बजारमा माग अनुसारको ती सामाग्रीहरुको आपूर्ती पनि सहज छ । त्यसो भए ती सामाग्रीहरु कहाँबाट आईरहेका छन् त ?

बजारमा कृत्रीम अभावको स्थिती शृजना गरिएको छ र सरकार कालोबजारीको लागी अवसर शृजना गरिरहेको छ । सिँगो अर्थ व्यवस्था डरको भरमा चलिरहेको छ । हामी अत्यावश्यक सामाग्री भण्डारणमा लागिरहेका छौँ जसले बजारमा यस्ता सामाग्रीहरुको माग बढाईरहेको छ र ठुला उद्योगहरु सजिलै राम्रो आय आर्जन गरिरहेका छन् । मेरो अर्थ यो कदापी होईन कि ठुला उद्योगहरुले यस्तो समयमा कमाउनु हुँदैन आखिर व्यापारको सिद्धान्त नै त्यही त हो मौकामा हीरा फोड्नु बेमौकामा कौडी नछोड्नु ।

त्यसो भए कोरोना भाइरसले हाम्रो जीवनमा के असर परेको छ त ?

शायद तपाईंको प्रश्न पनि यही हुनसक्छ र यसै प्रश्नको उत्तर खोज्दै तपाईं यो लेख पढ्दै हुनुहुन्छ । मैले अघी नै भनिसकेँ लकडाउनले उच्च र ठुला व्यापारिक घरानालाई केहि असर गरेको छैन । न त्यो वर्गमा पैसाको कमी छ न त केहि कुराको अभाव नै हुनेवाला छ । तर मध्यम तथा निम्न वर्गीय जनातालाई हेर्ने हो भने व्यक्तिको क्रय शक्ती दिनानुदिन तीव्र रूपमा कमजोर हुँदै गैरहेको छ । सामान्य मानिसले अब अत्यावश्यक बाहेकका अन्य सेवा सुविधाको उपभोग गर्न सक्ने दिन अब धेरै छैन ।

अब सर्वसाधारणहरु त्यस्ता सेवा सुविधाभन्दा अत्यावश्यक खाद्य सामाग्री खरिद गर्न तर्फ केन्द्रीत हुनेछन् । बाँकी सबै सेवाहरुको माग घट्दै जानेछन् । यसकारण त्यस्ता सेवा प्रदायक कम्पनीहरु बिस्तारै धराशायी हुने जोखिममा छन् जसले अर्को ठुलो समस्या निम्त्याउँछ त्यो हो बेरोजगारी । बेरोजगारी बढेसँगै रोजगारहरुको आम्दानी पनि घट्दै जान्छ । माग र पूर्तिको नियम नै त्यही हो । जब कुनै पनि कुराको आपूर्ती मागभन्दा धेरै हुन्छ त्यसको मूल्य कम हुन्छ ।

अहिले वित्तिय संस्थामा प्रशस्त तरलता छ । तर यतिबेला कोही जोखिम उठाउन चाहँदैनन् । यतिबेला ॠण लिएर लगानी गर्नेबारे कस्ले सोच्ने ? जताततै फाइदा हुने भन्दा डुब्ने जोखिम बढी छ । त्यसोभए के अहिलेको परिस्थितिले समाजमा रहिरहेको आर्थिक असमानता झानै बढाउँदै लान्छ त ?

हो । तर स्थिती त्योभन्दा पनि भयंकर हुने सम्भावना छ । जनताको आर्थिक अवस्था कमजोर हुँदै जाँदा बेरोजगारीसँगै साक्षरता पनि घट्दै जान्छ । देशको कुल ग्राह्यस्थ उत्पादनमा कमी आउँछ । बहुराष्ट्रीय तथा अन्तर्राष्ट्रीय कम्पनीहरु बन्द हुनेछन् ।

यी सबै घटनाक्रमले देशको अर्थतन्त्र नै डामाडोल बनाईदिनेछ । देश पूर्णतया अरु देशहरुमा निर्भर हुनुपर्ने स्थिती आउँछ । अहिलेको परिस्थितिभन्दा फरक देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी वैदेशिक ॠण सहयोग लिनुपर्ने अवस्था आउँछ जसले गर्दा हामी थप अन्तर्राष्ट्रीय सन्धी सम्झौता गर्न वाध्य हुनेछौँ र हाम्रो देश विस्तारै पूर्नतया ठुला राष्ट्रको मुठ्ठिमा हुनेछ । हाम्रो देशमा भएका हामिले सही उपायोग गर्न नसकेका सबै श्रोत साधन उनिहरुले उपायोग गर्नेछन् र आफ्नै खल्ती भर्नेछन् ।

एक अर्थशास्त्रको विद्यार्थी भएकोले म के भन्छु भने अब लकडाउन या निषेधाज्ञा हुनुहुँदैन । सरकारले जनतामाथी थोपरेको करको भारी सके हटाउनुपर्छ नसके घटाउनुपर्छ । लकडाउनको शिकार बनेका कल कारखानालाई राहत दिएर प्रोत्साहित गर्नुपर्छ । सरकार आफैँले ठुला उद्योगमा लगानी गर्नुपर्छ र जनताको लगानिको सुरक्षा दिनुपर्छ । देशकै उत्पादनमा जोड दिँदै परनिर्भरताको अन्त्य गर्दै लानुपर्छ । त्यती गरे मात्रै हामी आफ्नो खुट्टामा उभिना सक्छौँ अनि अरु देशको सामु स्वाभिमानले शिर उठाउन सक्छौँ ।

अन्तमा समस्त व्यवशायीहरुलाई म के भन्न चाहन्छु भने समयको सही उपयोग गरौँ । ॠण लिऔँ लगानी बढाऔँ राम्रा दिन आउँदैछन् ।

अर्जुन दाहाल्,
कक्षा – १२
वेस्ट विङ कलेज, ललितपुर


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome