मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

भक्तपुर रेडक्रसमा प्लाज्मा थेरापीका लागी कोरोनामुक्तको रगत संकलन सुरु

२१ भाद्र, २०७७ १७:१२ मा प्रकाशित

611 पटक पढिएको

blood donation

भक्तपुर – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले कोरोना भाइरस संक्रमणलाई जितेकाहरुको रगत संकलन सुरु गरेको छ। कोरोना भाइरस संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीहरुको प्लाज्मा थेरापी गर्न उक्त रगत संकलन गरिएको जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको कुनै खोप तथा औषधि अहिलेसम्म पत्ता लागेको छैन। तर संक्रमण भएर निको भएकाहरुको रगतको प्लाज्मा गम्भीर संक्रमितलाई दिँदा निको हुन थालेपछि अहिले प्लाज्मा थेरापी गर्ने क्रम बढेको छ।

कोरोना भाइरस संक्रमण भएर गम्भीर बिरामी भएकालाई जीवनदान दिन भक्तपुर रेडक्रसले संक्रमण भएर निको भएकाहरुको रगत संकलन गर्न थालेको जिल्ला सभापति थापाले स्पष्ट पारे। उनका अनुसार शनिबार कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरहेका एक संक्रमितलाई भक्तपुरको चाँगुनारायण नपाका एक युवाको रगतलिएर प्लाज्मा उपलब्ध गराइएको छ।

संक्रमण भएर निको भएका ती युवकलाई पाटन अस्पतालमा उपचाररत संक्रमितले नै सम्पर्क गरेका थिए। जसअनुसार ती युवकले खुसीसाथ ती संक्रमितको प्लाज्मा थेरापीकोलागि भक्तपुर रेडक्रसको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा रगत दिएका थिए। प्लाज्मा थेरापीको लागि रगत संकलन गर्न भक्तपुरका ६१ जना कोरोना संक्रमण जितेकाहरुको सूची तयार गरिएको सभापति थापाले बताए।‘उक्त सूचीमा अन्य संक्रमण जितेकाहरुलाई पनि समावेश गर्दै जान्छौं’, उनले भने, ‘जसले गर्दा प्लाज्मा आवश्यक संक्रमितलाई सम्पर्क गर्न सहज होस्।’

उक्त सूचीभित्रका व्यक्तिलाई रक्तदानको लागि भक्तपुर रेडक्रसले लिन जाने र पुनः घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। संक्रमित र उनका घरपरिवारले सम्पर्क गरेर ल्याएका व्यक्तिको रगत लिएर पनि भक्तपुर रेडक्रसले प्लाज्मा छुट्याएर उपलब्ध गराउने सभापति थापाले जानकारी दिए। उनले संक्रमितको लागि आवश्यक प्लाज्मा सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। शनिबारसम्म भक्तपुरका एकसय २ जना कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्।

चिकित्सकहरुका अनुसार कोरोना भाइरस संक्रमण जितेकाहरुको रगतमा रोगप्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ। त्यसैले उक्त रगतमा भएको प्लाज्मा अर्को संक्रमित व्यक्तिलाई दिँदा संक्रमणलाई चाँडै जित्ने उनीहरु बताउँछन्। उनीहरुको अनुसार यसरी प्लाज्माको लागि रगत दिनेहरु कोरोना भाइरस संक्रमणलाई जितेको १५ दिन पूरा भएको हुनुपर्छ।

संक्रमण जितेका व्यक्तिबाट लिइएको रगतको प्लाज्मामात्रै काम लाग्ने जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे बताउँछन्।‘संक्रमण जितेकाको रगतबाट प्लाज्मामात्रै लिन्छौं’, उनले भने, ‘बाँकी रगतका सेल काम लाग्दैन।’

उनका अनुसार भक्तपुर रेडक्रसको ब्लक बैंकमा दैनिक ३/४ जना संक्रमित र संक्रमितका आफन्तले प्लाज्मा थेरापीको लागि रगत आवश्यक भएको भनी सम्पर्क गर्छन्।
पहिले संक्रमितहरुको सम्पर्क नहुँदा व्यवस्था गर्न नसकिइरहेको उनको भनाइ थियो। भक्तपुरस्थित जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा शनिबारदेखि भने उक्त सेवा सुरु गरिएको मन्त्री पाण्डेले स्पष्ट पारे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome