सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

विदेशबाट आएर क्वारेन्टाइनमा नबसी सिधै घर गएकी युवतीमा कोरोना पुष्टि

३० असार, २०७७ १५:३३ मा प्रकाशित

534 पटक पढिएको

corona positive

बागलुङ, ३० असार : कोरोना परीक्षणमा प्रयोग गरिएको आरडिटीका बारेमा चौतर्फी प्रश्न र आलोचना भएपछि जिल्लामा क्वारेन्टाइन बसेकाहरुको अनिवार्य पीसीआर परीक्षण गर्ने गरिएको थियो । तर, पछिल्लो समय जिल्लामा क्वारेन्टाइनमा राखिएकालाई पीसीआर परीक्षण नगरी आरडिटी गरेर धमाधम घर पठाउन थालिएको छ।

लामो समयदेखि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण र रिपोर्टमा ढिलाइ हुन थालेपछि निसीखोला गाउँपालिकाले धमाधम आरडीटी गरेर घर पठाएको हो । गाउँपालिकाले विभिन्न क्वारेन्टाइनमा रहेका ३ सय ५३ जनालाई आरडीटी परीक्षण गरी घर पठाएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए ।

आरडीटी मात्र गरी घर पठाउँदा गाउँघरका नागरिक भने त्रसित बनेका छन् । गाउँपालिकाले भारतबाट आएर १४ दिनदेखि २२ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई एक हप्ता होम क्वारेन्टाइन बस्नू भन्दै घर पठाइएको उनको भनाइ छ ।

तर, क्वारेन्टाइनबाट घर फर्किएका गाउँमा खुलेआम डुल्न थालेका छन् । पीसीआर नगरी घर पठाइएपछि समुदायमा कोरोना संक्रमणको जोखिम र त्रास बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘भारतबाट आएर क्वोन्टाइनमा बसेकाहरु अहिले गाउँमा खुलेआम डुलिरहेका छन्, यसले गर्दा कतै हामीलाई पनि कोरोना लाग्ने हो की भन्ने डर छ,’ निसीखोला ५ का जसबिर बुढाले भने, ‘सरकारले कोरोनाको अनिवार्य पीसीआर जाँच गर्ने भने पनि स्थानीय सरकारले आरडिटी जाँच गरेर छोडेको छ, यो सिंगो गाउँका लागि घातक कदम हुन सक्छ, यसमा कसैले पनि खेलवाड गर्नुहुँदैन ।’

उनले गाउँमा भारतबाट आएका जथाभावी रुपमा हिँड्दा स्थानीय त्रसित भएको भन्दै कथमकदाचित कसैलाई संक्रमण देखिए समुदायमा भयावह अवस्था आउन सक्ने बताए । निसीखोला गाउँपालिकामा कोरोना संकटका कारण जारी बन्दाबन्दी (लकडाउन)कै अवधिमा ८ सय बढी नागरिक भारतबाट आएका छन् । भारतबाट आउने यो संख्या जिल्लामै सबै भन्दा बढी हो । १० स्थानीय तह रहेको बागलुङमा भारतबाट मात्रै २२ सय बढी नागरिक पछिल्लो समय भित्रिएका छन् ।

अहिले पनि ४७ जना क्वारेन्टाइनमा छन् । गाउँपालिकामा हालसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा पनि ५ जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्ट‍ाइनमा राखिएको छ । २ जना आइसोलेसनमा छन् ।

गाउँपालिकाले आवश्यक स्वास्थ्य परामर्श दिएर दुई साता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वडास्तरका जनप्रतिनिधि, कर्मचारीबाट समन्वय गरेर उनीहरुको निगरानी गरिरहेको उनको भनाइ छ । ‘भारतबाट आएका धेरै समय गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नुभयो, स्कुलका साथै टहरा बनाएर पनि राख्यौं, सक्दो व्यवस्थापन गर्‍यौं तर परीक्षणको लागि पठाएको स्वाबको पनि २०/२२ दिनसम्म रिपोर्ट आएन,’ गाउँपालिका अध्यक्ष पौडेलले भने, ‘समयमा रिपोर्ट नआउँदा व्यवस्थापनमा आर्थिकदेखि सबै हिसाबले निकै कठिनाइ भएकाले आरडीटी परीक्षण गरेर पठाउन बाध्य भयौं ।’

यसरी पठाउँदा समुदाय केही भयभित अवस्था भए पनि नागरिकमा कसैलाई कोरोनाको लक्षण देखिएमा तत्काल परीक्षण गर्ने व्यवस्था गरिने उनले बताए । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले सरकारको पछिल्लो गाइड लाइन अनुसार संक्रमित पनि कुनै लक्षण नदेखिए घर पठाउन सकिने व्यवस्था भएकाले क्वारेन्टाइनमा लामो समय बसेकालाई घर पठाउनु अन्यथा नहुने बताए ।

‘संक्रमित भएका होस् या क्वारेन्टाइन बसेका, यदी १४ दिनसम्म कुनै लक्षण देखिएको छैन भने घर पठाउँदा समस्या हुँदैन, उनले भने, ‘यसरी पठाउँदा समुदायमा केही डर र आतंक त देखिएको छ, यो विषयमा बुझाउनु पर्ने जरुरी पनि छ, लक्षण नदेखिएको अवस्थामा भयभित बन्नुपर्ने अवस्था होइन ।’

उता, जिल्लाको गलकोट नगरपालिकामा विदेशबाट सिधै घर गएका एक युवतीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकी दुवईबाट आएकी गलकोट नगरपालिका वडा नम्बर ५ का युवतीलाई नगरपालिकाको क्वारेन्टाइनमा नराखी सिधै घरमा होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको थियो ।

घर आएको ३ दिनमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले वडा कार्यालयले समुदायमा क्वारेन्टाइनमा नराखी आफूहरुलाई कुनै जानकारी समेत नदिएर नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडा कार्यालयले कोरोना नियन्त्रण गर्नतर्फ ध्यान नदिएको र विदेशबाट आएकालाई व्यवस्थापन नगरेर सिधै घर जान दिएको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय बिपिन श्रीसले बताए ।

वडा कार्यालयले विदेशबाट आएका नागरिकको यथोचित व्यवस्थापन नगरेको र उनीहरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय आक्रोशित बनेका छन् । वडा अध्यक्ष नारायणध्वज मल्लले तीनदिन अगाडि एक युवती दुवईबाट आएर होम क्वारेन्टाइनमा बसेको र उनमा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘विदेशबाट आएपछि धौलागिरी अस्पतालमा स्वाब दिएर एम्बुलेन्समा ल्याएर सुरक्षित होम क्वारेन्टाइनमा राखिएको थियो, ‘अध्यक्ष मल्लले भने, ‘उनी घरमा सुरक्षित रुपमा बसेकी थिइन् । उनीसँग कोही सम्पर्कमा आएको छैन, यदी आएको भए कन्ट्याक्ट ट्रेसिङमार्फत कोरोना परीक्षण गर्नेछौँ ।’

संक्रमित महिलालाई गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटी स्थित नरेठाँटी स्वास्थ्य चौकी प्रि-आइसोलेसनमा लगिएको छ ।गण्डकी प्रदेशमै बागलुङ कोरोना संक्रमणमा अगाडि छ । जिल्ला भर हालसम्म संक्रमितको संख्या २ सय १८ पुगेको छ । जसमध्ये १ सय ७८ जना निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome